बच्चाहरुको अघि नगर्नुहोस् यस्ता गल्ती

लोकपथ
518
Shares

काठमाडौं । हरेक आमाबाबुले आफ्नो बच्चा हरेक कुरामा अब्बल होस् भन्ने सोच्ने गर्दछन् । बच्चाको हुर्काइमा पारिवारिक वातावरणले ठूलो असर पारिरहेको हुन्छ । शिक्षित अभिभावकले आफ्ना बालबच्चालाई कुलत र अन्य अनावश्यक कुराबाट टाढा राखिरहेका हुन्छन् । तर कतिपय अभिभावकले भने त्यस्ता कुरामा ध्यान पुर्याउन सक्दैनन् ।

ती सचेत अभिभावकले आफ्ना बच्चासँग जानीजानी केही गलत गर्न चाहँदैनन् । तर पनि उनीहरुको क्रियाकलाप आफ्ना बच्चाहरुको लागि हानिकारक हुनसक्नेतिर उनीहरुको ध्यान जान सकेको हुँदैन ।

असामान्य लाग्ने कतिपय गतिविधिहरु घरबाटै सिकेका बालबालिकाले ती कुराहरु सामान्य मान्न थाल्छन् तर त्यो भने समाज र सामाजिक पक्षबाट गलत हुने गर्दछ ।

अझ बच्चाको मानसिक स्वास्थ्यको विषय पनि अभिभावकको व्यवहारमा निर्भर रहन्छ । तर त्यसमा ख्याल नगरिँदा आमाबाबुको सानो गल्तीले बालमस्तिष्कमा ठूलो असर पर्ने गर्छ । त्यसैले आफ्नो बच्चाको अगाडि जे जति शब्द चयन गर्नुहुन्छ, त्यो एकदम सोचेर र बुझेर गर्नुपर्छ ।

हामीले ख्यालै नगरेका हाम्रो व्यवहारले जानी नजानी बालबच्चाहरुको बानी र मानसिक पक्षमा ठूलो असर गरिरहेका हुनसक्छ । जसकारण बच्चाको लागि पनि अभिभावकले आफ्ना व्यवहारहरुमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

हामीले बालबच्चालाई हानी गर्नेगरी यी काम गरेका त छैनौँ ?

बच्चाको भावनात्मक पक्षको बेवास्ता

हरेक मान्छेको सबैभन्दा महत्वपूर्ण पक्ष भावनात्मक पक्ष हो । बाल मनोविज्ञानमा असर पर्ने किसिमका गतिविधिहरु गरिदिँदा वा त्यसमा ख्याल नगरिँदा बालबच्चाको भावनात्मक पक्षमा असर पर्न जान्छ ।

बच्चा के कुराले खुसी भइरहेको छ वा दुखी भइरहेको छ भन्ने कुरा हामीले बुझ्न जरुरी हुन्छ । यदी उ सामान्य कुरामा धेरै दुखी हुन्छ भने त्यसले उनको मानसिक पक्षमा असर गरिरहेको हुन्छ । सुन्दा र देख्दा सामान्य लाग्ने विषयहरु बच्चाहरुलाई असामान्य लाग्ने गरेमा बेलैमा बुझेर त्यही अनुसार व्यवहार गर्नुपर्ने हुन्छ । बाल्यकालमा प्राप्त गरिएका स–साना सफलता पछिको मानक बनिदिन्छ । यदी हेर्दा सामान्य लाग्ने बालबालिकाको सफलतामा अभिभावकले सेलिब्रेट नगरिदिँदा उसलाई आत्मग्लानी भइरहेको हुनसक्छ । यदि कुनै कुरामा बच्चाको जित हुन्छ भने त्यो सेलिब्रेट गर्नुहोस्, सानो कुरा त हो नि भनेर इग्नोर नगर्नुहोस् ।

तुलना गर्ने

बालबालिकाको पहिलो विद्यालय उसको घर हो । यदी उसले घरमा राम्रो वातावरण पाएन भने उसले पछि जति नै राम्रो शिक्षालयमा भर्ना गरे पनि उसले राम्रो नगर्न सक्छ । हामी साना देखि ठुला कुराहरुमा अरुसँग तुलना गरिरहेका हुन्छौँ । अभिभावकले अरुसँग आफ्ना र बच्चाका कुराहरु तुलना गर्ने बानीले महत्वकांक्षी बनाउँछ र खुसी हुन दिँदैन । त्यसकारण बच्चाको अघि आफ्ना र बालबालिकाका कुराहरु तुलना गर्ने गर्नुहुँदैन । त्यसका लागि आफूसँग जे कुरा छ त्यसमै खुसी हुनका लागि उत्प्रेरित गर्नुपर्दछ । फेरि तुलना नगर्ने नाममा बच्चाहरुलाई राम्रो कुराको मात्रै प्रशंसा पनि गर्नुहुँदैन, असल खराब कुराहरु छुट्टयाएर त्यसलाई स्वीकार गर्न सक्ने बनायौँ भने मात्रै असल संस्कार बन्न सक्छ ।

हरेक कुरामा परफेक्ट खोज्ने

यो संसारमा कोही पनि केही कुराबाट पूर्ण हुँदैन । हामी असल र राम्रो बन्नका लागि नै भौतारिरहेका हुन्छौँ । आज भन्दा भोलि राम्रो, भोलि भन्दा पर्सी राम्रो हुँदै जाने हो । तर एकैपटक परफेक्ट खोज्न थालियो भने त्यसले हामीलाई खुसी दिँदैन । हामीलाई महत्वकांक्षा थपिदिन्छ र दुखी बनाइदिन्छ । बच्चाहरुको केसमा पनि सोही कुरा लागु हुन्छ । बच्चाहरु अरु भन्दा राम्रो र असल होस् भन्ने सबैको चाहना हुन्छ, तर परफेक्ट बनाउने नाममा असल संस्कार त भुलिरहेका छैनौँ त्यस कुरामा ध्यान दिनुपर्दछ ।

हरेक कुरामा बाध्य बनाउने

यदि आफ्नो बच्चालाई कुनै काम गराउनका लागि वा कुनै कुरा मनाउनका लागि ‘ब्ल्याक मेल’ गर्नुहुन्छ भने यो निकै गलत हो । यदी कुनै काम उनीहरुलाई गर्नै मन छैन भने त्यसमा जबरजस्ती गर्ने धेरैको बानी हुन्छ । यदी राम्रो काम भए पनि उनीहरु मानिरहेका छैनन् भने हामीले आफ्नो तर्फबाट मात्रै नभइ उनीहरुको तर्फबाट पनि सोचिदिनुपर्ने हुन्छ । कुन कुराले उ त्यो कामप्रति आकर्षित हुन्छ त्यसको वातावरण सिर्जना गरिदिनुपर्ने हुन्छ । जसकारण उनीहरुको मानसिक पक्षले नै त्यस कामलाई सहज सोच्न सकोस् ।

सधैँ परिपूर्ण बनाउने

स्वभावैले हरेक अभिभावकहरु आफ्ना बच्चाको भविष्यका लागि दुख गरिरहेका हुन्छन् । बच्चालाई कुनै कुराको अभाव नहोस् भन्नका लागि उनीहरु बच्चाका हरेक कुरा पूरा गर्ने मनसाय राख्छन् त्यो राम्रो पनि हो । तर त्यस्तो बानीले उनीहरु हरेक कुरा परिवारले पूरा गरिदिन्छ भन्ने कुरामा ढुक्क बन्ने बानी नै बनिदिन्छ तर यदी कुनै बेला ती कुराहरु पूरा गर्न अभिभावकहरु सक्षम नभएमा उनीहरुमा नकारात्मक धारणा पैदा हुन जान्छ । जसको कारण हामी हाम्रा बालबालिकालाई जस्तोसुकै परिस्थितीमा पनि जुध्न सक्ने बनाउनुपर्दछ ।

झगडा गर्ने

कतिपय आमाबाबुहरु बालबच्चाको अघि नै झगडा गर्नेगर्दछन् । जसको कारण बालबालिकामा पनि झगडा गर्नु सामान्य विषय जस्तो लाग्न थाल्छ र उनीहरुमा नकारात्मक धारणा विकासित हुँदै जान्छ । उनीहरुले बाहिर आफ्नो साथीसंगीसँग सानो कुरामा पनि झगडा गर्ने बन्नसक्छन् । अभिभावकको झगडाले कतिपय बालबालिकाहरु मानसिक रुपमा कमजोर बन्दै जान्छन् । त्यसकारण हरेक अभिभावकले बालबच्चाको अघि सानादेखि ठुला विवाद र झैझगडा गर्नु हुँदैन ।

यसरी हरेक बालबालिकामा सानैबाट असल संस्कारको विकास गराउन सकेमा उनीहरुले भविष्यमा राम्रो गर्न सक्छन् । अभिभावकले साना साना कुरामा ध्यान दिँदा मात्रै पनि उनीहरुको भविष्यमा ठुलो प्रभाव रहन्छ । त्यसकारण उनीहरुको रुची, चाहना बुझेर सोही अनुसारको वातावरण सिर्जनामा अभिभावकले मुख्य ध्यान दिनुपर्ने जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?