काभा महिला भलिवल उपविजेता टोलीलाई सम्मान

लोकपथ
910
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ‘सेन्ट्रल एशियन भलिबल एशोसिएसन’ (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई प्रोत्साहन सहित नगद प्रदान गरेका छन् ।

बिहीबार (आज) उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गरेको हो ।

त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् । खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् । यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिष्ट हुन् ।

सम्मानका क्रममा प्रमुख शाहले भने ‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ । यो विषय छुटेको महसुस गराएको छ । यसमा हामी काम गर्नेछौँ ।’

खेलको प्राविधिक पक्षमा चर्चा गर्दै उपप्रमुख सुनिता डंगोलले उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरिन् । सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको बताए ।

काठमाडौंको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन् । राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि विजय गरेको थियो । खेलमा ५ वटा देश सहभागी थिए । सन् २०१९ मा भएको १३औँ दक्षिण एशियाली खेलकुदको भलिबल खेलमा पनि नेपालले यही अवस्थाको सामना गर्नु परेको थियो । उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० सोझो सेटमा हराएको थियो । भारतलाई फाइनलमा हराउन सकेको भए नेपाली महिला भलिबल इतिहासमा ठूलो उपाधि हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?