धरान । सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागूऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ ।
सुनसरीका पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी गरिएकाले लागूऔषधसहित कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्ने क्रम बढेको सशस्त्र प्रहरी बल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले बताए ।
गत आवमा गाँजामात्र एक हजार एक सय तीन केजी नियन्त्रणमा लिएको थियो । त्यस्तै ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल २३ हजार सात सय एक थान, स्मास्पो प्रोभेक्सिभोन छ सय ९९ थान, नाइट्राजेपाम एक सय ८२ थान, डाइजिपाम २६ थान, बुप्रेनफिन २७ थान, लुपी टिटी जेसिक ४० थान र डाइकोलिक दुई सय थान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त अवधिमा लागूऔषध ओसारपसारमा प्रयोग भएका दुई वटा एम्बुलेन्स, १२ वटा मोटरसाइकल र एउटा अटो पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।
भारतसँग खुला सीमानाका भएका कारण अधिक रुपमा लागूऔषध ओसारपसार हुने गरेको छ ।
नेपालका पहाडी क्षेत्रबाट भारततर्फ गाँजा लैजाने क्रम बढेको पाइएको छ ।
लागूऔषधका कारोबारीले नेपालबाट भारततर्फ गाँजा लैजाने र अन्य लागूऔषध भारतबाट नेपालतर्फ ल्याउने गरेका सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।
सप्तकोशी नदीको जलमार्ग र लागूऔषध ओसारपसार हुने क्षेत्रको रेखांकन ती सबै ठाउँमा सुरक्षा व्यवस्थापन कडाइ गरिएको छ । सबैभन्दा धेरै लागूऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ सप्तकोशी नदीको जलमार्गमा सुरक्षा कडाइ गरिएको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया