फेक आईडी बनाएर सामूहिक बलात्कार, बलात्कारपछि फेसबुकबाट ब्लक

मुख्य आरोपी पक्राउ, चार जना फरार

लोकपथ
868
Shares

धनगढी । कैलालीको अत्तरियामा एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ घर भएकी किशोरीलाई गत ९ साउनको राति बलात्कार गरेको अभियोगमा प्रहरीले गोदावरी नगरपालिका–१० का पदम थापालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले घटनामा संलग्न मुख्य दोषी पक्राउ परिसकेको र घटनामा जोडिएका चार जना फरार रहेको बताए । साउन ९ गते राति १७ वर्षीया ती किशोरीलाई जंगलमा लगेर करणी गरेको भन्ने उजुरी पीडित पक्षबाट आएपछि मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । साउन १५ गते मुख्य आरोपी थापालाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । थापाले फेसबुकमा फेक आइडी बनाएर ती किशोरीसँग कुरा गर्दै आइरहेको खुलेको छ ।

परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति उनलाई घर बाहिर भेट्न बोलाएका थिए । उनलाई बाइकमा राखेर राति १२ बजे गोदावरी नगरपालिका १० को मालाखेती जंगलमा लगेका थिए । थापाले सोही स्थानमा आफ्ना चार जना साथीहरुलाई समेत बोलाएका थिए । थापासहित उनका अन्य साथीहरुले मालाखेती जंगलमा किशोरीलाई सामूहिक बलात्कार गरेपछि पुनः घरमै ल्याएर छाडेकोसमेत खुलेको छ ।

किशोरीले आफूमाथि सामूहिक करणी गर्ने कसैलाई पनि चिनेकी थिइनन् । जबरजस्ती करणीपछि थापाले किशोरीलाई फेसबुकबाट ब्लक गरेका थिए । पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले किशोरीसँग कुराकानी गरेको फेक एकाउन्टको इमेल पहिचान गरी थापालाई पक्राउ गर्न सफल भएको डीएसपी थापाले बताए । पक्राउ परेका पदमलाई मालाखेती प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?