दमौली । तनहुँ जिल्लामा डेंगी संक्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेंगी संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेंगी पुष्टि भएको छ ।
डेंगी संक्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेंगी परीक्षण गरिएको छ । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगीको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए ।
पूरा शरीर ढाकिनेगरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु-याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । गर्मी मौसममा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेंगी सङ्क्रमित भएका थिए । जिल्लाभर करिब सात हजार सङ्क्रमित रहेकामा कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा थिए । त्यस्तै चार जनाको डेंगी संक्रमणबाट मृत्युसमेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया