गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

लोकपथ
511
Shares

चितवन । भरतपुर महानगरपालिका– १५ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य थालिएको छ ।

महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा रङ्गशाला निर्माण कार्य थालेको हो ।

महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको काम धमाधम भइरहेको छ । निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौं पठाइएको छ । उनले भने ‘निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेका छन् ।’

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ ।

सुरुमा रङ्गशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले पाँच हजार जना अट्ने प्यारापिट तयार गरिसकेको छ । त्यसका लागि दुई सय ८६ वटा पिलर खडा भइसकेका छन् । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विघा १९ कट्ठा जग्गा रङ्गशालाले चर्चेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?