यस्तो छ भारतीय विदेशसचिव मिस्रीको दुईदिने भ्रमण तालिका

लोकपथ
182
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।

नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि नेपालका लागि यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भारतका विदेशसचिवको यो भ्रमण नियमित हो । उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन् । उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।

उनले आजै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उनले सुरुमा नेपालस्थित भारतीय राजदूतावास कर्मचारीसँग छलफल गर्नेछन् ।र ,त्यसपछि दुई बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने छन् ।

राष्ट्रपतिसँगको भेटपछि उनले तीन बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । सचिव मिस्रीले आइतबार नै उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंहलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम पनि रहेको छ ।

यस्तै, आज नै परराष्ट्र सचिव लम्सालले सचिव मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन् । भोलि सोमबार बिहान ११ः४५ बजे उनले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?