सर्वोच्च अदालतमा ‘एमाले त्रास’, अझै हटेन कोचिङ सेन्टर

लोकपथ
4.4k
Shares

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले सूचना निकालेर कोचिङ कक्षा सञ्चालन गर्न नदिने सूचना जारी गरे पनि एमालेनिकट कर्मचारी संगठनको धम्की दिएर कोचिङ कक्षा सञ्चालन गरिरहेको छ ।

एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले प्रतिव्यक्ति १३ हजार ५ सय रुपैयाँ उठाएर सर्वोच्च अदालतकै एनेक्स भवनमा न्याय सेवाको उपसचिव पदका लागि कोचिङ कक्षा सञ्चालन गरेको थियो । सुरुमा व्यावसायिक रूपमा नभई निःशुल्क भनिए पनि पछि पैसा लिएर कोचिङ कक्षा चलाएपछि त्यसको व्यापक विरोध भएको थियो ।

हेर्नुहोस् समाचार

सर्वोच्च अदालतभित्रै पैसा लिएर एमालेको कोचिङ सेन्टर !

सर्वोच्च अदालतमा कार्यरत अन्य विभागीय कार्यसमितिको विरोधपछि सर्वोच्च अदालत प्रशासनले साउन १६ गते एक सूचना जारी गर्दै एक दिवसीय कार्यक्रमबाहेक अन्य कार्यक्रम सञ्चालन गर्न नदिने गरी मापदण्ड तयार पारेको थियो । त्यसपछि गत शुक्रवारसम्मका समय दिएर कोचिङ कक्षा अन्यत्र सार्न सर्वोच्च प्रशासनले संगठनलाई अल्टिमेटम दिएको थियो ।

हेर्नुहोस् समाचार

कोचिङ कक्षा सञ्चालन गर्न नदिने भएपछि मुठभेड गर्ने एमालेनिकट संगठनको चेतावनी

तर सर्वोच्च अदालत प्रशासनले मापदण्ड निकालेर एक दिवसीय बाहेक अन्य कार्यक्रम सञ्चालन गर्न नदिने सूचना जारी गरेको भोलिपल्ट अर्थात् साउन १७ गते एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले विज्ञप्ति निकालेर कोचिङ कक्षा सञ्चालन गर्न नदिए मुठभेड गर्नेसम्मको चेतावनी दिएर विज्ञप्ति निकाल्दै यथा अवस्थामा कोचिङ कक्षा सञ्चालन हुने बताएको थियो ।

त्यसपछि भएको छलफलमा गत शुक्रवार सम्ममा अन्यत्र कोचिङ कक्षाका लागि स्थान तयार पार्ने र त्यसपछि कक्षा सञ्चालन नगर्ने सहमति भएको सर्वोच्च अदालत प्रशासनको दाबी छ । तर संगठनले भने आइतबार समेत सर्वोच्च अदालतको एनेक्स भवनबाटै कोचिङ कक्षा सञ्चालन गरिरहेको छ ।

सर्वोच्च प्रशासन लाचार
सर्वोच्च अदालत प्रशासनले सुरुमा कक्षा सञ्चालनका लागि अनुमति दिएको भए पनि पछि व्यावसायिक प्रयोजन देखिएपछि मापदण्ड बनाएर एक दिवसीय बाहेक अन्य कार्यक्रमका लागि स्वीकृति नदिने बताएको थियो ।

कोचिङ कक्षा सञ्चालनका लागि अनुमति माग गर्दा सुरुमा व्यावसायिक प्रयोजन नभनिएको कारण अदालतकै कर्मचारीका लागि निःशुल्क कक्षा सञ्चालन गर्न खोजिएकाले मौखिक अनुमति दिइएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले लोकपथलाई बताए । उनले भने, ‘सुरुमा उहाँहरूले शुल्क लिएर पढाउने भन्नुभएको थिएन । हामीले पनि अदालतकै कर्मचारीका लागि भनेर मौखिक स्वीकृति दिएका थियौँ । तर पछि उहाँहरूले महँगो शुल्क लिएको जानकारीमा आएपछि हामीले उहाँहरूलाई विकल्प खोज्न भनेका छौँ, तर उहाँहरू हट्नु भएको छैन ।’

सूचना अधिकारी घिमिरेका अनुसार नेपाल निजामती कर्मचारी संगठनलाई यसबारे जानकारी गराउँदै भवन छाड्न अनुरोध गरिएको छ । यद्यपि उनीहरूले सोही भवनमा कोचिङ कक्षा सञ्चालन गरिरहेका छन् ।

व्यावसायिक प्रयोजनका लागि सर्वोच्च अदालतको भवन प्रयोग गर्न पाउने हो भने पत्रकाहरुले अन्य कार्यक्रम गर्न पनि त पाउँछ होला नि, हामीले निवेदन दिएर माग गरे पाइन्छ भन्ने लोकपथको प्रश्नमा घिमिरेले भने, ‘अब पाइँदैन, व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न दिँदैनौँ, हामी यो पनि चाँडै नै व्यवस्थापन गर्दैछौँ ।’

सर्वोच्च अदालत प्रशासन यति बेला एमालेको त्रासमा रहेको माओवादीनिकट कर्मचारी संगठनको आरोप छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय समितिका अध्यक्ष हरि भट्टराईका अनुसार सर्वोच्च अदालत प्रशासन एमालेका त्रासका कारण कोचिङ कक्षा बन्द गर्नतिर नलागेको आरोप लगाउँछन् ।

भट्टराई भन्छन्, ‘सर्वोच्च अदालत प्रशासन पनि एमालेको त्रासका कारण लाचार छ । मापदण्ड बनाए पनि कोचिङ कक्षा बन्द गराएको छैन । बरु सर्वोच्च अदालतकै न्यायाधीश र कर्मचारीहरू, उच्च अदालतका न्यायाधीश र कर्मचारी तथा सरकारी वकिलसमेत कोचिङ कक्षा लिन गइरहेका छन् । पढाउने अनुमति नै नलिई उनीहरूले पढाएबापत रकमसमेत बुझिरहेका छन् ।’

भट्टराईले कोचिङ कक्षा राजनीतिक र व्यापारिक उद्देश्यबाट प्रेरित रहेको आरोपसमेत लगाएका छन् । उनी भन्छन्, ‘उनीहरूले पैसा उठाएर सर्वोच्च अदालतको भवनमा कक्षा चलाइरहेका छन् । त्यहाँ पढाउन जानेहरू पनि मुख्यतः एमाले पृष्ठभूमिका न्यायाधीश र कर्मचारी छन् । यसको अर्थ त्यहाँ व्यापारिक र राजनीतिक उद्देश्य रहेको स्पष्ट छ ।

को को गए कोचिङ पढाउन ?
सर्वोच्च अदालतको एनेक्स भवनमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको कोचिङ कक्षामा पढाउन सर्वोच्च अदालतकै न्यायाधीश हरिप्रसाद फुयाल गएका छन् । एमालेनिकट भनिएका उनी पहिले एमालेकै भातृ संगठनमा बसेर काम गरिसकेका व्यक्ति हुन् ।

त्यसै गरी कोचिङ कक्षामा पढाउनका लागि उच्च अदालत पाटनका न्यायाधीशद्वय श्याम भट्टराई र रमेश ढकाल तथा रजिस्ट्रार श्रीलाल पौडेल पनि सर्वोच्च अदालत पुगेका छन् । त्यसै गरी न्याय परिषद्का प्रवक्ता अशोक क्षेत्रीले पनि कोचिङ कक्षामा गएर पढाएका छन् भने सरकारी वकिल समूहका सह रजिस्ट्रारहरू उद्धव पुडासैनी र गोविन्द खनालले पनि कोचिङ कक्षा लिएका छन् । उनीहरू सबै एमालेनिकट मानिन्छन् ।

यो पनि…

व्यापक विरोधपछि सर्वोच्च अदालतमा चलेको कोचिङ कक्षा बन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?