काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आइतबार भएको शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेटका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनिकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताए ।
‘हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनिकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको भनाई उद्धित गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
राष्ट्रपति पौडेलले नेपाल भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठुलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्ने बताउँदै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संशाधन विकास नेपालको प्राथमिकता रहेको बताए ।
उनले नेपालमा जलविद्युत विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त संभावना रहेको उल्लेख गरे । सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनिकरणको विषय दुवै देशका लागि चुनौति रहेकोले यसमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल सरकारका कैयो योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको उनको भनाइ उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया