नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न दुई चार्टर उडान हुँदै

लोकपथ
182
Shares

काठमाडौं । नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न रुप्से होलिडेजले दुई चार्टर उडान गर्ने भएको छ । दुई देशका पर्यटक आदानप्रदान गर्न रुप्सेले आगामी असोज ३० गते चार्टर उडान गर्ने भएको हो ।

रुप्सेले आइतबार एक विज्ञप्ति जारी गर्दै दुई देशका पर्यटक आदानप्रदान गर्न चार्टर उडान गर्न लागेको जानकारी दिएको हो । आगामी असोज ३० गते र कात्तिक ३ गते चार्टर उडान गर्न लागेको रुप्सेले जनाएको छ ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार दशैंको टिकालगत्तै असोज ३० गते (अक्टोबर १६) बाट ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपालमा पर्यटक आदानप्रदान गर्न लागिएको हो ।

नेपालबाट चार्टर उडानमार्फत नेपाली पर्यटकलाई भियतनाम लैजाने र भियतनामबाट भियतनामी पर्यटक बोकेर फर्कने योजना रहेको रुप्सेले जनाएको छ ।

नेपाल र भियतनामबिच सिधा उडान नहुने भएकाले बढी खर्च लाग्नेमा चार्टर उडानमार्फत सस्तो मूल्यमै घुमघामको प्याकेज सार्वजनिक गरेको रुप्सेले दाबी गरेको छ ।

नेपाली पर्यटकलाई भियतनाम घुमाउन रुप्सेले सबै शुल्क जोडेर १ लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिक अप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यहरूमा घुमाइने रुप्सेले जनाएको छ । पहिलो दिन हानोई पुगेर त्यहाँको थ्री स्टार होटेलमा राखिनेछ भने दोस्रो दिन निन बिन टापुको भ्रमण गराइने छ । भ्रमणको तेस्रो दिन अर्को गन्तव्य हा लोङ बे मा क्रुज सफारी हुनेछ । भ्रमणको चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौँ दिन नेपाल फर्काइनेछ ।

कुल १ लाख ९ हजार ९९९ रुपैयाँको टुर प्याकेज भए पनि एकै पटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा पनि घुम्न पाइने व्यवस्था गरिएको रुप्सेले जनाएको छ । १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने गरी किस्ताबन्दीको व्यवस्था मिलाइएको रुप्सेले जनाएको छ । आगामी दशैं लगत्तैको भियतनाम भ्रमणका लागि समयमै सिट बुक गर्न रुप्सेले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?