काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा अमेरिका रोमाञ्चकरुपमा पहिलो भएको छ । अमेरिका र चीनबीचको पहिला हुने भन्ने रस्साकस्सीबीच अन्तिम दिन अमेरिकाले बाजी मारेको हो ।
दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीनले समानरुपमा ४०–४० स्वर्ण जितेको थियो । तर रजत पदकमा अमेरिका बढी भएकाले अमेरिकाले बाजी मार्न सफल भएको हो । अमेरिकालाई उपाधी जिताउने खेल नै महिला बास्केटबल हुन गयो । महिला बास्केटबलअघि चीन ४० स्वर्णसहित पहिलो थियो । तर अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछि पदक तालिकामा चीनलाई पछि पारेको हो । रोमाञ्चक खेलमा अमेरिकाले आयोजक फ्रान्सलाई ६७–६६ ले पराजित गरेको थियो ।
अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित १२६ पदक जित्दा चीनले ४० स्वर्ण, २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो । यस्तै, जापान २० स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४५ पदक जितेर तेस्रो बन्यो । अष्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्यसहित ५३ पदक जोडेर चौथो भयो । आयोजक फ्रान्स १६ स्वर्ण, २६ रजत र २२ कांस्यसहित ६४ पदक जितेर पाँचौं बन्यो । पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।
फ्रान्सको पेरिसमा जुलाई २६ देखि सुरू भएको ओलम्पिक गएराति विशेष समारोहका साथ समापन गरिएको । अब चार वर्षपछि संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा ३४ औं ग्रीष्मकालीन ओलम्पिक हुनेछ । यसपालि नेपालसहित एशियाका ४४ वटा देशहरुले भाग लिएका थिए । ३२ वटा खेलका ३२९ वटा इभेण्ट सञ्चालन गराइएको ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिम र ६ हजार ८०० खेलाडी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया