प्रचण्ड बिनाको माओवादी : ‘प्रभाकर’ले उठाए गम्भीर सवाल

कुनै बेला नेपालीलाई लाग्थ्यो राजतन्त्र बिनाको नेपाल कस्तो होला ? हो अहिले ठ्याक्कै माओवादी नेता कार्यकर्ताहरुलाई पुष्पकमल दाहाल प्रचण्ड बिनाको माओवादी कस्तो हुन्छ भने जस्तै । प्रचण्डले माओवादीको नेतृत्व गरेको दशकौँ भयो । १० वर्षे सशस्त्र द्धन्द्ध सकिएर नेपाल शान्तिको बाटोमा आएको २ दशक पुग्न लाग्दा पनि अझै नेतृत्वमा प्रचण्डनै छन् । केही नेताहरुले सिधै भन्न नसकेपनि पार्टी बैठकमा प्रतिवेदनमार्फत प्रचण्डको विकल्प पनि माओवादीमा छ भन्ने सन्देश दिन खोज्छन् । तर त्यो विषय केही समयपछि सेलाएर जान्छ ।

अहिले माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । जारी बैठकमा माओवादी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रस्तुत गरेको प्रतिवेदनले अहिले माओवादीमा हलचल मच्चिएको छ । उनले त्यहाँ माओवादी भित्र प्रचण्डको विकल्प खोज्नुपर्ने आवाज मुखरित गरेका छन् ।

उनले १० वर्षे क्रान्तिपछि पार्टीले गरेका कमीकमजोरीबारे प्रष्टसँग आफ्नो धारणा राखेका छन् । जनतालाई देखाइएका आशाहरु पार्टी आफ्नै कारणले निराशामा बदलेको धारणा उनको रहेको छ ।

उनले विभिन्न १० बुँदामा समेटेर अहिलेको अवस्थामा मुलुक पुगेको विषयमा खुलाएका छन् ।

शान्तिप्रक्रिया लगत्तै समग्र पार्टी पंक्तिलाई अभियानात्मक रुपले उत्पादन र रोजगारी सिर्जनाका काममा आह्वान गर्नुपर्नेमा माओवादी रनभुल्लमा परेको स्पष्ट पारेका छन् । साथै सार्वजनिक शिक्षामा आमूल परिवर्तन गर्न नसकिएको बताउँदै उनले भनेका छन्, ‘सार्वजनिक शिक्षामा आमूल परिवर्तन गर्न सकिएन । आफ्नो माटो, इतिहास, नविनतम विज्ञान र प्रविधिसँग जोडिको जीवन र व्यवहार, कला र कौशल, शीप र श्रम अभिव्यक्त हुने शिक्षा प्रदान गर्ने कार्यक्रम दिन सकिएन । सिर्जनात्मक र रचनात्मक शिक्षामा सबैको पहुँच हुने एकरुपतापूर्ण शैक्षिक कार्यक्रम निर्माण हुन सकेन ।’


माथि उल्लेखित कारणले १० वर्षे सशस्त्र क्रान्तिको नेतृत्व गरेर आएको पार्टीले उल्लेख्य उपलब्धी हासिल गर्न नसकेको बताउँदै आन्दोलनप्रति नै प्रश्न उठेको उनको धारणा छ । आफ्नै कारणले माओवादी खुम्चिँदा अहिले पार्टीसँग जनाधार र संगठन केही नभएको बताएका छन् ।

‘यी तमाम कारणले त्याग र वलिदान, पार्टी र नेतृत्वले खेलेको ऐतिहासिक भूमिका र जनताको योगदानबाट प्राप्त उपलब्धीहरु आखिर के का लागि भन्ने प्रश्न उठ्यो । माओवादी पार्टी योजनाविहीन र संगठनविहिन बन्न पुग्यो । आज हामीसँग संविधानका अलवा न जनाधार छ, न संगठन छ । केही सीमित उपलब्धी बाहेक न कुनै देखाउन लायक कामहरु छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ । हाम्रा एजेण्डाहरु खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाती समुदाय हाम्रा व्यवहार र निर्णयले टाढिएको छ । शहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेको छैन,’ प्रभाकरे.को लिखित प्रतिवेदनमा उल्लेख छ ।

माओवादी यो हालतमा आइपुग्नुको मुल कारण के ?

उनले विभिन्न ९ बुँदामा माओवादीभित्रको समस्या केलाउने कोशिस गरेका छन् ।

उनले लेखेका छन्, ‘माओवादी संघर्ष नयाँ आन्दोलनको रुपमा विकसित भएको थियो । यो आन्दोलन महिला, जनजाती, दलित, सीमान्तकृत, मधेशी, उत्पीडित वर्ग र समुदायको साझा आन्दोलन हुन पुगेको थियो । आन्दोलनबाट राष्ट्रिय सहमतिमा ओर्लदा त्यसमा सहभागि समूह र शक्तिलाई पार्टीमा कसरी संगठित र रुपान्तरित गर्ने भन्ने एक अहं प्रश्न थियो । त्यसका लागि सोच योजना लगायतका युद्धकालीन कमाण्ड प्रणालीबाट लोकतान्त्रिक संगठनात्मक प्रणालीमा रुपान्तरण आवश्यक थियो । तर संगठनात्मक संरचना र नेतृत्व प्रणालीमा युद्धकालीन सोचकै निरन्तरता रह्यो । यसको परिणाम निम्मानुसार देखियो :

छरपस्ट हुँदै गएको जनमतबारे चिन्ता जाहेर गर्ने संस्थागत परिपाटी निर्माण हुन सकेन ।

१. माओवादी आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका महिला, जनजाती, दलित, सिमान्तकृत, मधेशी, उत्पीडित वर्ग र समुदायहरु बिस्तारै आन्दोलनबाट अलग हुँदै गए ।

२. छरपस्ट हुँदै गएको जनमतबारे चिन्ता जाहेर गर्ने संस्थागत परिपाटी निर्माण हुन सकेन ।

३. पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गयो । फरक मतको सम्मान गर्ने संस्कार मासिदै गयो । कम्युनिष्ट स्प्रिट अनुसार सामूहिक छलफल,बहसको परिपाटी कमजोर हुन पुग्यो ।

४. पार्टीलाई आम जनताबाट अलगथलग मात्र गरिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो ।

५. पार्टीभित्र मुद्दा विशेषमा कमी कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइयो ।

६. विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔँ र चलाऔँ भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग भएको आभाष भयो ।

७. पार्टी सञ्चालनको मूल्यमान्यता, विधि, पद्दतिको धज्जी उडाइएका कारण न प्रणालीको स्थापना भयो न संगठनको स्वरुप र कमिटीहरु कतिबेला के बन्छ भन्ने कुरा अन्यौलताग्रस्त रह्यो ।

८. संघर्षबाट शान्तिमा आएको माओवादी लक्ष्यविहिन र एजेण्डाविहिन हुँदै समाज रुपान्तरणको अभियानमा विस्तारै आफ्नो निजी स्वार्थ र सुविधा उन्मुख भयो । एकथरी नेता कार्यकर्ताहरु पद र सुविधा तथा अर्कोथरी अभाव र पीडामा भौतारिने वातावरण निर्माण भयो ।

९. क्रान्तिमार्फत शान्तिमा आउँदा समग्र राष्ट्रलाई संविधान सभा, संघीयता, समावेशी लोकतन्त्रको मार्गचित्रमा डोहोर्याएको माओवादी आफैँ किमकर्तव्यविमुढ हुन पुग्यो । शान्ति प्रक्रियापछिका लगभग दुई दशकसम्म यदाकदा बाहेक कार्यकर्ताहरुको उचित व्यवस्थापन त परैजावस उनीहरु कामविहीन भए । ती कार्यकर्ताहरु क्रियाशील बनाउने स्पष्ट एजेण्डा र कार्यक्रम भएन ।

१४ पृष्ठमा समेटिएको ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ को अन्तिम सार पार्टी नेतृत्व भुत्ते भयो भन्ने देखिन्छ । त्यो बेलाको माओवादी, आन्दोलन र यो बेलाको परिणामबीचको तालमेल केलाइएको प्रतिवेदनबाट जनार्दनले अबको नेतृत्व प्रचण्ड बिनाको हुनुपर्ने निष्कर्ष निकालेका छन् । प्रतिवेदनपछि आफूमाथि हुनसक्ने राजनीतिक खतरालाई मत्थर पार्न त्यसलाई प्रतिवेदनकै हिसावले बुझ्न समेत सुझाएका छन् । प्रचण्ड बिनको माओवादीको परिकल्पनाका लागि प्रभावकरले यसरी खुलाएका छन् ।

‘नेतृत्वबारे’ शीर्षकमा प्रभाकर लेख्छन् :


मार्क्स, एंगेल्स, लेनिनका पनि कमीकमजोरी नभएका होइनन् । स्टालिनको त ३० प्रतिशत कमजोरी भनेर माओले भन्नुभएको थियो । माओका पनि पार्टी निर्माण, विकास र समृद्धिको बाटो तय गर्ने सन्दर्भमा कमीकमजोरी नै देखिएका थिए । हाम्रो पार्टी र आन्दोलनमा अन्तरसंघर्ष र दुई लाइन संघर्ष सञ्चालन गर्ने सन्दर्भमा एकथरिले अन्धसमर्थन गर्ने र अर्कोथरिले वर्गसंघर्षकै रुपमा बुझ्ने प्रवृत्ति हावी छ । यसलाई पार्टी निर्माण र नयाँ परिस्थिति अनुसार रुपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिवृद्धि गर्न जरुरी छ । त्यस अर्थमा पुरानालाई सम्मान नयाँलाई प्रोत्साहनको मान्यतामा रही निम्न विकल्पमा जानुपर्छ ।

१. नेतृत्व हस्तान्तरण : अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने । वा,

अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने, पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने

२. नेतृत्व पुस्तान्तरण : अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने । हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने । वा,

३. हालको केन्द्रीय कमिटी भंग गरी क. प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजनक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने ।
पुनस्च : यस प्रस्तावलाई कुनै आग्रह पूर्वाग्रहको रुपमा नलिई पार्टी निर्माणको लागि गरिएको बहसको विषयका रुपमा ग्रहण गरिनेछ भन्ने विश्वास लिएको छु ।

पार्टी फुटबारे चलाइएको हल्लाबारे प्रभाकर लेख्छन् :

मुखलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारवाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो । देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसलाई हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ । यस विषयमा देशभरबाट सयौँले फोन गरी पार्टी फुटाइदैछ र भनी सोध्ने गरेका छन् । यो कुरा अन्य राजनैतिक दल, सुरक्षा निकाय, व्यूरोक्रेसीसमेतमा चासोको विषय बनेको छ ।

मूल नेतत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडी केही प्रश्नहरु छन् । ती प्रश्नहरुको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आम पंक्तिलाई तरंगित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उदेश्य रहेको छ । स–साना अन्तरविरोध समाधान गर्न झन ठुलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ । भन्ने अध्यक्षको मान्यताले काम गरेको छ । यहाँ प्रश्नहरु के हुन भने ?
आठौँ महाधिवेशनको समापन पूर्व नै विशेष महाधिवेशन घोषणा गरेर आठौँ महाधिवेशनको महत्वलाई हलभित्र समाप्त पारेका सन्दर्भमा प्रश्न,
पार्टीलाई विधि र पद्दतिमा लैजाने संकल्पको रुपमा आयोजना गरिएका विधान महाधिवेशन हलमा उत्साहका साथ भएका छलफल र हलको अभिमतलाई अवस्वीकार गर्दै फरक खालको घोषणा र विधान सम्मेलनभन्दा महाधिवेशन ठुलो हो, जे गर्नुछ त्यहीँबाट गर्नुपर्छ भनी विधान महाविधेशनको महत्वलाई ठाउँको ठाउँ समाप्त गरेको र सो अधिवेशनमा बोल्न समेत नदिइएकोबारे प्रश्न,
सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन त कहिले वर्षमानका विरुद्ध दुश्प्रचारसम्बन्धी प्रश्न,
प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्तिको प्रयोग गर्न खोजेकोबारे प्रश्न,
पार्टीभित्र विभिन्न तहका नेताहरुलाई जुटाउन हैन फुटाउनका लागि गरिने मेहनतबारेको प्रश्न,
नेतृत्व तहबाटै समानात्तर कमिटीहरु सञ्चालन गरिएकोबारे प्रश्न,
सरकारको गठबन्धन बारम्बार फेरिरहेकोबारे गरिएको प्रश्न,
प्रधानमन्त्री र गृहमन्त्री हाम्रै पार्टीको हुँदा प्रदेशलाई प्रहरी हस्तान्तरण गरौँ भन्ने प्रस्ताव,
प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोग हाम्रै पार्टीसँग हुँदा साना तथा मझौला आयोजना र बजेट स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गरौैँ भन्ने प्रस्ताव,
कोशी प्रदेश नामाकरण हुँदा किँरात पनि जोड्ने कुरामा हाम्रो असहमति किन भनि उठाएको प्रश्न,
प्रश्न उठाएकै कारण कार्यक्षेत्रबाट बेदखल गरी देखाइदिएँ भनी दिएको अभिव्यक्तिप्रतिको प्रश्न ।

जसबारे समीक्षा, स्पष्ट छलफल, आलोचना–आत्मालोचनातिर नलागी पार्टी फुट्दैछ भनेर आम पंक्तिलाई भ्रमित गर्ने, त्रसित गर्ने, सांसदहरुले मेरा विरुद्ध हस्ताक्षर गरिसके भनेर अफवाह फैलाउने जसले पार्टी र नेतृत्वलाई नै ठुलो क्षति पुर्याइरहेको छ ।

चार दशक लामो नेतृत्वप्रतिको सम्मान, विश्वास र सहकार्यको आधारमा मैले प्राप्त गरेका सबै सूचनाको जानकारी, कामको रिपोर्टिङ र अनुमति लिइरहेको छु । तर शंकाले लंका जलाउने, चियाको कपमा तुफान सिर्जना गर्ने भनेझैँ पार्टीलाई क्षति हुने गरी सार्वजनिक रुपमा भ्रम सिर्जना गर्ने, मूल नेतृत्वले बोलेका सबै कुराहरु सही हुन्छन् भन्ने स्कुलिङमा हुर्केको हाम्रो पंक्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ? यसबारे गम्भीर समीक्षा हुनुपर्दछ ।

याे पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?