काठमाडौं । ग्रीनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले न्यौपानेलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट सोमबार पक्राउ गरेको हो ।
प्रहरी अनुसाधनको क्रममा न्यौपानेले पीडितलाई मासिक ७० हजार रूपैयाँ तलबमा कुकको काममा लगाइदिने र काम गरेको केही समयपछि ग्रिनकार्डसमेत पाइने भनी प्रलोभन देखाएको खुल्न आएको छ ।
साथै उनले पीडितबाट २ लाख ५० हजार रूपैयाँसमेत लिएको र २०८० साल मंसिर १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्याइ मौरिसियन नागरिकको जिम्मा लगाएका थिए ।
पीडित महिलालाई मौरिसियन नागरिकले दैनिक १७ देखि १८ घण्टा घरको काम लगाइ समयमा खाना खान र तलब समेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेको पनि प्रहरीले जनाएको छ ।
न्यौपानेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया