वासिङ्टन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ ।
हसिनाको बहिर्गमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पारेका हुन् ।
बंगलादेशको राजनैतिक परिवर्तन बंगलादेशी जनताको छनोट रहेको बताउदै उनले बंगलादेशी जनताले नै आफ्नो सरकारको निर्माण र विघटन गर्न पाउनु पर्छ भन्ने पक्षमा अमेरिका रहेको बताए ।
हसिनाका छोरा तथा पूर्व सरकारी सल्लाहकार सजीव वाजेद जोयले अज्ञात विदेशी शक्तिले बंगलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्यपी उनले कुनै प्रमाण भने पेश गरेका थिएनन् ।
मे महिनामा हसिनाले विदेशी शक्तिलाई बंगलादेश सरकारलाई सैन्य विमानस्थल (एयरबेस) निर्माण गर्न अनुमति नदिएपछि आफूविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएकी थिइन् ।
संयुक्त राज्य अमेरिकाको सामान्यतया बंगलादेशसँग मैत्रीपूर्ण सम्बन्ध छ । यद्यपी हालको अवस्थामा बंगलादेश र अमेरिकाबीच आरोप प्रत्यारोपको श्रृंखला चलिरहेको देखिन्छ ।
बंगलादेशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुखको रूपमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया