स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

लोकपथ
14
Shares

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरलाई पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि अनुसन्धानका लागि कुँवरसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला सदरमुकाममा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि। को बिरुवा सेवा केन्द्रबाट रकम अपचलन गरेको आरोपमा उनीहरुमाथि पक्राउ पुर्जी जारी भएको हो । रकम अपचलन भएको घटना बाहिरिएपछि सहकारीको आन्तरिक अनुसन्धानमा ३ करोड ६६ लाख रुपैयाँ अपचलन भएको भेटिएको स्रोतको भनाइ छ ।

पक्राउ पुर्जी जारी हुनेमा कुँवरसहित सहकारीका बिरुवा सेवा केन्द्रका तत्कालीन सचिव एवं हालका अध्यक्ष तारेन्द्रबहादुर के।सी। र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस विभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारी रहेका छन् ।

प्रहरी अनुसन्धानमा सहकारीको बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्लेले २०७४ देखि सहकारीमा भएको रकम अपचलन घटनामा गाउँपालिकाका अध्यक्ष कुँवरसहितका व्यक्ति संलग्न रहेको बताएपछि उनीहरुमाथि पक्राउ पुर्जी जारी भएको हो ।

गाउँपालिकाका अध्यक्ष कुँवरले २०७४ को स्थानीय निर्वाचनका समयमा कागजातबिना रकम लगेर अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । स्थानीय सर्वसाधारणबाट सहकारीमा संकलित मोटो रकम अपचलन भएपछि सूर्योदय सहकारीकै प्रबन्धक ध्रुवनारायण श्रेष्ठसमेतको जाहेरीमा उनीहरुलाई पक्राउ पुर्जी जारी भएको प्रहरीको भनाइ छ ।

पार्टीका नेताले पैसा लग्ने, सेवा केन्द्र प्रमुख जीवन वाग्लेले बैकिङ स्टेटमेन्ट इडिटिङ गरेर मिलाउने र मुक्तिनाथ बैंककी कर्मचारी भण्डारी मार्फत स्टेटमेन्ट प्रमाणित गर्ने गरेको खुलेको छ । आम सर्वसाधारणको रकम अपचलन गर्नेलाई कडा कारबाही गर्न सहकारीका बचतकर्ताले आग्रह गरेका छन् ।

पालिकाका अध्यक्ष कुँवर र सहकारी सेवा केन्द्रका अध्यक्ष के.सी.का नातेदार हुन् भने सेवा केन्द्र प्रमुख एमालेकै कार्यकर्ता हुन् । २०७४ को स्थानीय निर्वाचनमा कुँवर एमाले पार्टीबाट गाउँपालिकाको अध्यक्ष बनेका हुन् । लामो समय शिक्षण पेशामा आबद्ध भएका अध्यक्ष कुँवर शिक्षण पेशा छाडेर राजनीतिमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?