काठमाडौं । सांसद् राजेन्द्रप्रसाद पाण्डेले गैरकानुनी रुपमा बालुवा उत्खनन र चोरी निकासी गर्ने गिरोहलाई कारबाहीको माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले वर्खामा अवैधरुपमा त्यस्ता गतिविधि बढेकाले रोक्नुपर्नेमा जोड दिनुभयो ।
सांसद् असिम शाहले अधिकांश युवाहरु विदेशीने गरेको उल्लेख गर्दै स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद् रामप्रकाश चौधरीले मधेस प्रदेशमा बजेट पनि कम भएको र गरिबीको रेखामुनि धेरै जनता भएर प्रदेश हरेक कुरामा पछाडि परेको बताउनुभयो ।
सांसद् प्रेम सुवालले नेपालीले विदेशमा सम्पत्ति राख्न नपाउने कानुन नबनाउदासम्म मुलुकमा भ्रष्टाचार कम नहुने र सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्य रोक्नुपर्नेमा जोड दिनुभयो ।
सांसद् चित्रबहादुर केसीले देशभर अविरल वर्षाका कारण जनधनको क्षति भएको उल्लेख गर्दै बाग्लुङमा ११ जनाको ज्यान गएको छ भने तीनजना ट्रमा सेन्टरमा उपचार भइरहको हुँदा पहिरो पीडितलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
सांसद्हरु राजेन्द्रकुमार केसी र तारा लामा तामाङले विद्युत् महशुल बक्यौतासम्बन्धी धारणा राख्नुभयो ।
सांसद् रञ्जु झाले भ्रष्टाचार निवारण ऐनमा भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै वर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले स्वास्थ्य बीमालाई बढाएर एक लाखबाट पाँच लाख पुर्याएकोमा प्रसंशा गर्नुभयो ।
सांसद् अब्दुल खाँनले बर्दियाका विभिन्न क्षेत्र बाढी र डुबानका कारण क्षति पुगेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद ध्रुवबहादुर प्रधानले धार्मिक पर्यटनको नेपालमा राम्रो सम्भावना भएको र पर्यटन भित्र्याउनका लागि सरकारले योजना बनाउनुपर्ने बताउनुभयो । सांसद् प्रेमबहादुर महर्जनले बाढीपहिरोको कारण जनधनको क्षति भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै दूषित पानीले मानिस बिरामी परिरहेका बताउनुभयो । सांसद् निशा डाँगीले देशमै बस्ने वातावरण बनाउनका लागि सरकारको ध्यानार्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया