काठमाडौ । मनसुनजन्य विपद्बाट पछिल्लो दुई महिनामा एक सय ७० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि यही साउन २४ गतेसम्म विभिन्न विपद्का घटनामा परी ४४ जना बेपत्ता तथा एक सय ९५ जना घाइते भएका छन् ।
मनसुनजन्य विपद्ले सबैभन्दा बढी गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु भएको छ । सबैभन्दा कम मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको छ । गत वर्ष सोही अवधिको तुलनामा यस वर्ष मनसुनजन्य घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गत वर्ष सोही अवधिमा ७२ जनाको मृत्यु, २८ बेपत्ता र एक सय जना घाइते भएका थिए ।
यस वर्षको मनसुनजन्य विपद्बाट दुई हजार नौ सय ९८ घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक सय ९७ निजी घर पूर्ण र एक सय ७० घरमा आंशिक क्षति पुगेको छ । यस्तै तीन सरकारी कार्यालय र पाँच पक्की पुल, १५ झोलुङ्गे पुल तथा एक जलविद्युत् आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
दुई महिनाको अवधिमा बाढीका एक सय ६९, पहिराका तीन सय ३६, भारी वर्षाका दुई सय २८ र चट्याङका ८८ गरी आठ सय ४८ विपद्का घटना भएका छन् । बाढीबाट ३६ को मृत्यु, पाँच बेपत्ता र २४ घाइते भएका छन् । पहिरामा परी एक सय नौ जनाको मृत्यु, ३९ बेपत्ता र ९६ घाइते, भारी वर्षाबाट एकको मृत्यु र २० घाइते तथा चट्याङबाट २४ को मृत्यु र ५५ जना घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया