बेचन झाविरुद्ध ठगी र संगठित अपराध कसुरमा मुद्दा दर्ता

लोकपथ
140
Shares

काठमाडौं । बेचन झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले झाविरुद्ध अदालतमा पूरक अभियोग दर्ता गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा उनले नेपाल र भारतको दोहोरो नागरिकता लिएको खुलेको छ ।

बेचन झा पक्राउपछि नक्कली भुटानी शरणार्थी प्रकरणबारे थप कुरा खल्ने र यसले सो प्रकरणबारे थप गहिराइमा पुग्न सहयोग पुग्ने विश्वास गरिएको थियो । तर उनले यो विषयमा कुनै कुरा थाहा नभएको बयान दिएका छन् ।

अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । ‘म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन, टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत केही छैन’, उनले भनेका छन्, ‘त्यसो हुनाले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानुस्, चेकको सम्बन्धमा मलाई केही थाहा छैन ।’

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफू पक्राउ परेपछि बयानका क्रममा राजनीतिक नेतृत्व मिलाउने जिम्मा झाले लिएको बताएका थिए । साथै भुटानी शरणार्थी प्रकरणमा छानबिनको दायरामा आएका व्यक्तिहरुले झाको नाममा काटेको तीन करोड रुपैयाँको चेकसमेत बरामद भएको थियो । तर उनले यी सबै विषयमा इन्कारी बयान दिएका थिए ।

झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेर १५ असारमा नेपाल ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?