मन्त्री भण्डारीसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

लोकपथ
0
Shares

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गरेकी छन्  ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा दुई मुलुकबीच मित्रता, सहयोग, पारस्परिक विश्वास र सम्मानमा आधारित सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, ‘अष्ट्रेलिया नेपालको मित्रराष्ट्र हुनाका साथै विकास प्रक्रियाको महत्वपूर्ण साझेदार रहँदै आएको छ, नेपालले स्वास्थ्य, जनजीवन, शासकीय प्रबन्ध, जनशक्ति विकासलगायत क्षेत्रमा अष्ट्रेलियाबाट सहयोग प्राप्त गर्दै आएको छ ।’ 

अष्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली समुदायलाई अष्ट्रेलियामा उपलब्ध सहयोगका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले अष्ट्रेलियाबाट नेपालमा पर्यटक आगमनसमेत उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटकको संख्या थप वृद्धि हुने विश्वास व्यक्त गरे।

‘नेपालको सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिलाई सहज, दिगो र अपरिवर्तनीय बनाउन र नेपालले दिगो विकासका लक्ष्य प्राप्तिका लागि थप स्रोत, प्रविधि तथा साझेदारी आवश्यक छ, ’मन्त्री भण्डारीले भने, ‘यस सन्दर्भमा व्यापार, लगानी तथा पर्यटनलगायत क्षेत्रमा नेपालले अष्ट्रेलियाबाट थप सहयोगको अपेक्षा गरेको छ, अष्ट्रेलियामा रहेर महामहिमले यस क्षेत्रमा सहयोग पु-याउने छन् भन्ने विश्वास लिएको छु ।’ 

 भेटघाटका अवसरमा मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीलगायत मन्त्रालयका अन्य पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?