कान्ति बाल अस्पताललाई थप व्यवस्थित बनाउने स्वास्थ्य मन्त्री पौडेलको तयारी

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सीमित स्रोत र साधनभित्र रहेर अधिकतम परिणाम ल्याउनुपर्ने अवस्था रहेको बताएका छन् ।  

बुधबार कान्ति बाल अस्पतालको बाल मनोचिकित्सक र मानसिक स्वास्थ्य इकाईको निरीक्षण गर्दै उनले नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा बाल कान्ति मात्र भएको भन्दै यसलाई प्रभावकारी बनाउने कुरामा सहकार्य गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘देशले अहिलेको भन्दा बढी सक्रियता खोजेको छ । सीमित स्रोत र साधनभित्र हामीले अधिकतम परिणाम ल्याउनुपर्ने अवस्था छ । नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा यो अस्पताल मात्रै हो, त्यस कारण यसलाई प्रभावकारी बनाउने कुरामा हामीले सहकार्य गर्न आवश्यक छ ।’

यसको साथै, उनले पुरानै काम नयाँ तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक रहेको भन्दै अनलाइनबाट सेवा दिने व्यवस्था भए सहज वातावरण सिर्जना हुने बताए । 

उनले भने, ‘हामीले पुरानै काम नयाँ तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक छ । सरकारी अस्पतालहरूमा हुने भिड, लाइनलाई घटाउनको लागि हामीले भनेको अनलाइन प्रणालीबाट काम अगाडि बढाउनुपर्छ । अनलाइनबाट सेवा दिने व्यवस्था गर्ने हो भने पनि सहज वातावरण सिर्जना हुन्छ । समय तोकिएको टोकनको पनि व्यवस्था गर्न सकियो भने राम्रो हुन्छ ।’ 

बीमालाई व्यवस्थित गर्न सकेमात्र स्वास्थ्य सेवा सहज र सरल बन्न सक्ने भन्दै यसमा सबैको सहयोगको अपक्षा गरेको पनि उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?