स्वास्थ्य मन्त्रालयमा प्रदीप पौडेलको एक महिना : यी हुन् सुधारका काम

लोकपथ
84
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले थप पाँच प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने गरि कार्यविधि स्वीकृत गरेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालय सम्हालेको एक महिनाको अवधिमा आफूले गरेका कामको जानकारी दिँदै मन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

त्यस्तै आफूले मन्त्रालय सम्हाले लगत्तै क्यान्सर रोगका बिरामीलाई राहत दिने उदेश्यले क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेकाे बताए ।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री पौडेलले मन्त्रालय सम्हालेको एक महिनामा गरेका कामको जानकारी गराएका हुन् ।

‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेलगत्तै क्यान्सर रोगका बिरामीलाई केही राहत दिन सकिन्छ भनेर क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेको थिएँ । र, आज मन्त्रालय सम्हालेको एक महिना पुग्दै गर्दा थप पाँच प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने गरि कार्यविधि स्वीकृत गरेका छौँ,’ मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

मन्त्री पौडेलका अनुसार अब, भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा प्राप्त गर्न सकिनेछ ।

त्यस्तै आम नागरिकको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न आफूलाई दिलोज्यान दिएर लाग्न प्रेरित गर्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?