अब सार्वजनिक सवारी साधनमा पनि यात्रुको पहिचान खुल्ने कागजात अनिवार्य

लोकपथ
448
Shares

काठमाडौं । गृह मन्त्रालयले यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउन यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ । यस्तै यात्रुहरुलाई टिकट काटेरमात्र यात्रा गराउन पनि निर्देशन दिएको छ । गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई बुधबार दिएको ११ बुँदे निर्देशनमा यी विषयलाई समेटिएको छ ।

यस्तै, गृह मन्त्रालयले यातायात व्यवसायी राष्ट्रिय महासंघलाई लेखेको पत्रमा अनलाइन टिकट प्रणालीको विकास गर्न, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्न, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्न पनि भनेको छ ।
यस्तै, यातायात व्यवसायी तथा मजदुरहरुको आचारसंहिता बनाइ लागू गर्न, चालक तथा सहचालक र टिकट काउन्टरमा बस्ने कर्मचारीको लागि पोसाक तथा परिचयपत्र बनाउन पनि भनेको छ । साथै, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवर्या गर्न भनेको छ ।

यस्तै लामो दूरीमा चल्ने सवारीमा कम्तीमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्न, सवारी साधनको नियमित मर्मतसम्भार, जाँच गर्ने तथा पुराना सवारी साधन प्रयोगबाट हटाउन भनेको छ ।

मन्त्रालयले सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझावअनुसार पत्र लेखेको हो । असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पहिरोले दुईवटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले साउन २२ गते सुझाव प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?