काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भारतको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ ।
अक्टोबर १५ बिहीबार दूतावासमा विभिन्न कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
त्यसपछि कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको थियो र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धान्जली अर्पण गरिएको थियो ।
सो अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ५० लाखसहित कम्बल वितरण गरी सम्मान गरिएको भारतीय दूतावासले जनाएको छ । साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवं १०७ मृतक सदस्यका निकटतम नातेदारहरुका लागि १२ करोड ५५ लाख भुक्तानी दिइएको छ ।
यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन् ।
दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ। यस पहलले प्राप्त अनुरोधको प्रत्युत्तरमा दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको दूतावासले जनाएको छ।
दूतावासका अधिकारी तथा उनीहरुका परिवारका अलावा नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा भारतका अन्य व्यक्तिहरुले भारतको ७८औँ स्वतन्त्रता दिवसको उत्सवमा सहभागीता जनाएका थिए ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए ।
ब्रिटिसको उपनिबेशबाट भारत सन् १९४७ अगस्ट १७ मा मुक्त भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया