काठमाडौं । नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकताका लागि घनिभूत छलफल गरिरहेको स्पष्ट पारेको छ ।
आज बसेको स्थायी कमिटीको बैठकपछि बोल्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सो कुरा बताएका हुन् ।
नेपालमा बृहत बामपन्थी एकता आवश्यक रहेको भन्दै समाजवादी मोर्चालाई एउटा किनारामा पुर्याउने गरी काम गरिरहेको बताए ।
‘देशभक्त प्रगतिशील शक्तिको मोर्चा आवश्यक छ । त्यसका लागि बृहत्त वामपन्थी एकीकरण आवश्यक छ । कम्युनिष्ट पार्टीको पुनर्गठन पनि गर्नुपर्छ । हामीले पहिला पनि एकता गरेपनि त्यसको रक्षा हुन सकेन । अब फेरि जनताको चाहना अनुसार छलफल बहस भइरहेको छ,’ उनले भने, ‘माधव नेपालसहित मोर्चामा आबद्ध सबै कम्युनिष्टहरुसँग एकताको घनिभूत छलफल चलिरहेको छ ।’
यता एकीकृत समाजवादीले भने समाजवादी मोर्चालाई ठोस निर्णयमा पुर्याउनेमा जोड दिए पनि माओवादी केन्द्रसँग एकता गर्ने गरी नसोचेको बताएको छ । सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले समाजवादी मोर्चालाई थप बलियो बनाउने गरी छलफल भए पनि त्यस विषयमा सोचेर मात्रै अघि बढ्नुपर्नेमा जोड दिए ।
पछिल्ला दिनहरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट बाक्लिएपछि पार्टी एकीकरणको चर्चा चल्न थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया