कर छल्न आफैँले आफैँलाई बेचिएको थियो कोकाकोलाको सेयर

सेयर बेच्ने र सेयर किन्ने दुवै कोकाकोलाकै भातृ संस्था

काठमाडौं । कोक, फ्यान्टा स्प्राइटलगायतका पेय पदार्थको ब्राण्ड नामबाट परिचित कोकाकोला कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर छली गर्न के के गर्‍यो र उसले कसरी लाभकर छली गर्‍यो भन्ने विषयको छोटकरी विवरण त तपाईँहरूले पहिलो अङ्कमा पढिसक्नुभयो होला । यदि पढ्नु छुटाउनुभएको भए ‘कोकाकोलाले नेपालमा छल्यो ५ अर्बभन्दा बढीको लाभकर’ शीर्षकको यो समाचार पढ्नुहोस् ।

नेपालमा कोकाकोलाको नामबाट परिचित बोटलर्स नेपाल लिमिटेडभित्र रहेको आफ्नो सेयर स्वामित्व परिवर्तन गर्न कोकाकोलाको मुख्य कम्पनी द कोकाकोला कम्पनी (टीसीसी)ले कुन विधि परिवर्तन गर्‍यो र उसले कसरी आफैँले आफूलाई सेयर बेचेको देखाएर नेपाल सरकारलाई तिर्नुपर्ने लाभकर छली गर्‍यो भन्ने विषयको चिरफार आजको अङ्कमा हुनेछ ।

पहिले एकपटक फेरि कोकाकोलाको पुँजीगत लाभकर छलीको विवाद के हो, त्यो बुझौँ ।

के हो कोकाकोलाको लाभकर छली विवाद ?
बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित कार्यालयको नाम हो, बोटलर्स नेपाल लिमिटेड । २०३२ सालमा प्रालिमा दर्ता भएको यो कम्पनी २०४२ सालमा लिमिटेड कम्पनीका रूपमा दर्ता भई केही कित्ता सेयर सर्वसाधारणका लागि समेत जारी भएको थियो । पछिल्लो समय सन् २०१४ को अक्टोबर २४ अर्थात् २०७१ कात्तिक ७ गते नेपालमा रहेको आफ्नो ७६ दशमलव १६ प्रतिशत सेयर बेचेपछि कोकाकोलाको लाभकर छलीको विषय सतहमा आएको थियो । २०७१ सालमै सेयर खरिद बिक्री भएको भनिए पनि सेयरको खरिद बिक्रीमा घोटाला भएको र त्यसबाट राज्यलाई आउनुपर्ने अर्बौँ रकमको राजश्व नआएको विषय राज्यले २०७७ साल मङ्सिरमा मात्रै थाहा पायो । त्यसलगत्तै राजश्व अनुसन्धान विभागले कोकाकोलाको नेपालस्थित कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिई अनुसन्धान गर्दा कोकाकोलाको सेयर मूल्य कौडीको भाउमा बेचिएको र नेपाल सरकारलाई कर नतिर्ने मनसायले दुबईमा कर नलाग्ने अफसोर कम्पनी खडा गरी कारोबार भएको पाइएको हो ।

त्यसपछि राजश्व अनुसन्धान विभागले विस्तृत छानबिन गर्दा कोकाकोलाले आफ्नो स्वामित्व बिक्री गर्दा भएको नाफा नदेखाएर नेपाल सरकारलाई तिर्नुपर्ने १ अर्ब २४ करोड रुपैयाँ पुँजीगत लाभकर नतिरेको ठहर भएको थियो । सोही आधारमा राजश्व अनुसन्धान विभागले २०७८ फागुन २७ गते उच्च अदालत पाटनमा राजश्व चुहावटको कसुरमा कोकाकोलाविरुद्ध मुद्दा दायर गर्‍यो । विभागले कोकाकोलाविरुद्ध राजश्व चुहावटको मुद्दा दायर गर्दा १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ रुपैयाँ पुँजीगत लाभकर छली गरेको ठहर गर्दै सो रकममा ब्याज, जरिवानालगायतका सबै रकम जोडेर कुल ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बिगो कायम गरेको थियो । सो मुद्दा अहिले उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा छ ।

कसरी भएको थियो पुँजीगत लाभकर छली ?

सन् २०१४ को अक्टोबर २४ मा बोटलर्स नेपाल लिमिटेडमा विभिन्न कम्पनी तथा व्यक्ति र सर्वसाधारणको गरी कुल १९ लाख ४८ हजार ८८७ कित्ता सेयर कायम थियो । जसमध्ये दुबईमा रहेको कोकाकोला साब्को एसिया लिमिटेडको नाममा कुल सेयर सङ्ख्याको ७६ दशमलव १६ प्रतिशत अर्थात् १४ लाख ८४ हजार ३०१ कित्ता सेयर स्वामित्व रहेको थियो । बाँकी सेयरमध्ये ४ लाख २८ हजार ७५५ कित्ता सेयर अर्थात् २२ प्रतिशत सेयर गोर्खा ब्रुअरी र बाँकी ३५ हजार ८३१ कित्ता अर्थात् १ दशमलव ८४ प्रतिशत कित्ता नेपाली सर्वसाधारण लगानीकर्ताको नाममा रहेको थियो ।

सन् २०१४ मा बोटलर्स नेपाल लिमिटेडमा लगानी गरेको कोकाकोला साब्को एसियाले तयार पारेको वित्तीय विवरणमा नेपालमा रहेको बोटलर्स नेपालको कुल पुँजी नै १५ करोड ७३ लाख ८२ हजार ४४७ अमेरिकी डलर अर्थात् हालको मूल्यमा २१ अर्ब रुपैयाँभन्दा बढी रहेको उल्लेख छ । तर तत्कालीन समयमै १५ करोड अमेरिकी डलरभन्दा बढी चुक्ता पुँजी रहेको कोकाकोला कम्पनीको ७६ दशमलव १६ प्रतिशत सेयर जम्मा १ करोड ७१ लाख अमेरिकी डलर अर्थात् हालको मूल्यमा २ अर्ब २९ करोडमै बिक्री गरेको भनी कागजात तयार पारियो । कागजात मात्रै तयार पारिएन नेपालमा रहेको आफ्नो सबै सेयर आयरल्यान्डमा रहेको युरोपियन रिफ्रेसमेण्टलाई बिक्री गरेको भनियो ।

अचम्म त के छ भने कोकाकोलाको सेयर सन् २०१४ को अक्टोबर २४ मा बिक्री हुँदा प्रतिकित्ता ११ दशमलव ५२ डलर अर्थात् तत्कालीन समयको सटही दर ९८ रुपैयाँ रहँदा प्रतिकित्ता नेपाली रुपैयाँ १ हजार १२९ मै बिक्री गरियो, जतिबेला कोकाकोलाको स्वतन्त्र बजार मूल्य अर्थात् सेयर बजारमा यो प्रतिकित्ता ३ हजार ८८३ रुपैयाँमा कारोबार भइरहेको थियो ।

यसरी नेपालमा प्रतिकित्ता करिब ४ हजार रुपैयाँमा कारोबार भइरहेको कोकाकोलाको सेयर दुबईबाटै बजार मूल्यभन्दा धेरै सस्तो प्रतिकित्ता १ हजार १२९ रुपैयाँमै बिक्री गरी नेपाल सरकारलाई तिर्नुपर्ने अर्बौँ रुपैयाँको राजश्व छली गरिएको थियो र राजश्व नतिर्ने मनसायले यो काम गरिएको थियो । बोटलर्स नेपालमा रहेको आफ्नो सबै सेयर कौडीको भाउमा बेचेको देखाएलगत्तै दुबईको ट्याक्स फ्री जोनमा दर्ता भएको कम्पनीले आफ्नो नाम नै परिवर्तन गरेर ‘कोकाकोला साउथवेस्ट एसिया होल्डिङ लिमिटेड’ बनाएको थियो, जसको कारण पछि खोजबिन भएमा पनि कागजात नष्ट भइसकेको जानकारी दिन सकियोस् ।

नेपालमा कोकाकोलाको प्रवेश र सेयर स्वामित्व
ब्राण्ड नाम कोकाकोलाको नामबाट परिचित बोटलर्स नेपाल लिमिटेड २०३२ सालमा प्रालिको रूपमा स्थापना भई त्यसको १० वर्षपछि २०४२ सालमा लिमिटेड कम्पनीमा परिवर्तन भएको थियो । कोकाकोला कम्पनीमा सुरुमा कोकाकोलाको मूल कम्पनी द कोकाकोला कम्पनीको १० प्रतिशत मात्रै सेयर रहेको थियो ।

उपलब्ध पछिल्लो तथ्यांक अनुसार नेपालमा कोकाकोलाको सेयर खरिद बिक्री सन् २००४ बाट व्यवस्थित रूपमा अगाडि बढेको देखिन्छ । सन् २००४ को मे १३ मा एफ एण्ड एन कोकाकोला सिंगापुरको नाममा कायम रहेको बोटलर्स नेपाल लिमिटेडको १९ लाख १३ हजार ५६ कित्ता सेयर प्रतिकित्ता ५३६ रुपैयाँका दरमा कोकाकोला साब्को एसिया लिमिटेडलाई बिक्री गरिएको थियो । उक्त सेयरमा बढिबढाउ भएको कित्तासमेत जोडी सन् २००८ फेब्रुअरी १३ मा म्यूचुअल ट्रेडिङ कम्पनीलाई ४ लाख २८ हजार ७५५ कित्ता सेयर प्रतिकित्ता ७२३ रुपैयाँमा बिक्री गरिएको थियो । म्यूचुअल ट्रेडिङ कम्पनीले सन् २००८ मा खरिद गरेको सेयर सन् २०११ अप्रिल २६ मा खेतान समूहका प्रेमकुमार खेतानले प्रतिकित्ता ७२७ रुपैयाँमा र सन् २०११ जुलाई ७ मा गोर्खा ब्रुअरी प्रालिले प्रतिकित्ता १ हजार ६९१ रुपैयाँका दरले खरिद गरेको थियो ।

कौडीको भाउमा सेयर बिक्री
यसरी बढिबढाउ हुँदै गर्दा सन् २०१४ अक्टोबर २४ मा कोकाकोला साब्को एसिया लिमिटेड (हाल कोकाकोला साउथवेष्ट एसिया होल्डिङ)को नाममा कायम रहेको ७६ दशमलव १६ प्रतिशत अर्थात् १४ लाख ८४ हजार ३०१ कित्ता सेयर उसले नेपाल सरकारलाई जानकारी नै नदिई दुबईबाटै आयरल्यान्डमा कार्यालय रहेको युरोपियन रिफ्रेसमेण्टलाई बिक्री गरेको दाबी गर्‍यो । सेयर बिक्री गर्दा उसले प्रतिकित्ता जम्मा ११ दशमलव ५२ डलर अर्थात् तत्कालीन समयको सटही दरअनुसार १ हजार १२९ प्रतिकित्ताका दरले बिक्री गर्‍यो । जबकि सेयर बजारमा उक्त सेयर ३ हजार ८८३ रुपैयाँमा खरिद बिक्री भइरहेको थियो ।

आफैँले आफैँलाई बेचियो सेयर
अब यहाँ बुझ्नुपर्ने कुरा के छ भने कोकाकोलाको नेपालस्थित कम्पनी बोटलर्स नेपाल लिमिटेडमा आफ्नो ७६ दशमलव १६ प्रतिशत सेयर स्वामित्व रहेको कोकाकोला साब्को एसिया लिमिटेडले आफ्नो सबै सेयर कसलाई कसरी बिक्री गर्‍यो त ? कोकाकोला साब्को एसिया लिमिटेड कसको स्वामित्व भएको संस्था हो र सेयर बिक्री गर्दा कसको स्वामित्व भएको कुन कम्पनीलाई बिक्री गर्‍यो त ? मुख्य विषय नै यहीँ केन्द्रित छ र कर छली गर्न के के गरियो भन्ने यहीँबाट खुल्छ ।

सुरुमा नेपालमा कोकाकोलाको कम्पनी स्थापना र सञ्चालन हुँदा सबै सेयर कोकाकोलाको मूल कम्पनी द कोकाकोला कम्पनीको नाममा कायम थियो । नेपालको कोकाकोला लिमिटेड कम्पनीमा गएपछि केही सेयर सर्वसाधारणको नाममा गएपनि अधिकांश सेयर आफू र आफू मातहतकै कम्पनीमा राखिएको थियो । कोकाकोलाको सिंगापुरस्थित कम्पनी एफ एण्ड एन कोकाकोला कम्पनीका नाममा सेयर रहेकामा जब युएई सरकारले आफ्नो देशमा लगानी गर्ने कम्पनीहरूलाई कर नलाग्ने घोषणा गर्‍यो, त्यसपछि कोकाकोलाले युएईस्थित दुबईको जुवेल अलि फ्री जोनमा फ्री जोन अफसोर कम्पनीको रूपमा संस्था दर्ता गर्‍यो कोकाकोला साब्को एसियाको नाममा । अनि नेपालको बोटलर्स नेपाल लिमिटेड कोकाकोलाकै सिंगापुरस्थित कम्पनी एफ एण्ड एन सिंगापुरको नाममा रहेको आफ्नो सबै सेयर दुबईमा खोलिएको कोकाकोला साब्को एसिया कम्पनीमा नाममा ट्रान्सफर गरियो । त्यतिबेला उक्त सेयर प्रतिकित्ता ५३६ रुपैयाँका दरले बोटलर्स नेपाल लिमिटेडमा रहेको १९ लाख १३ हजार ५६ कित्ता सेयर कोकाकोला साब्को एसिया लिमिटेडलाई बिक्री गरिएको थियो ।

सन् २००४ बाट आफ्नो सबैजसो सेयर कोकाकोला साब्को एसियाको नाममा नामसारी गरेको द कोकाकोला कम्पनीले बढिबढाउ भएको सेयरसमेत गरी आफूसँग रहेको सेयरमध्ये ४ लाख २८ हजार ७५५ कित्ता सेयर सन् २००८ को फेब्रुअरी १३ मा म्यूचुअल ट्रेडिङ कम्पनीलाई प्रति कित्ता ७२३ रुपैयाँमा विक्री गर्‍यो । म्यूचुअल ट्रेडिङ कम्पनीले खरिद गरेको उक्त सेयरमध्ये त्यसको ४ वर्षपछि खरिद गरेको मूल्यमा मात्रै ४ रुपैयाँ वृद्धि गरी सन् २०११ अप्रिल २६ मा खेतान समूहका प्रेम कुमार खेतानलाई प्रतिकित्ता ७२७ रुपैयाँका दरले विक्री गरियो । खेतान समूहले सेयर खरिद गरेको ७५ दिनमा सोही सेयर प्रतिकित्ता १ हजार ६९१ रुपैयाँका दरले गोर्खा ब्रुअरी प्रालिले खरिद गरेको देखिन्छ । अचम्म त के भने त्यतिबेला ७५ दिनकै फरकमा कसरी प्रतिकित्ता ९६४ रुपैयाँको अन्तर आयो र त्यहाँ कसले कसरी घोटाला गर्‍यो वा लाभकर छली गर्‍यो भन्ने विषयमा भने खोजी नै गरिएन ।

युएईको दुबईमा रहेको कम्पनी द कोकाकोला साब्को एसियाले सन् २०१४ को अक्टोबर २४ मा आफ्नो स्वामित्वमा रहेको सबै सेयर आयरल्यान्डमा रहेको युरोपियन रिफ्रेसमेण्टलाई बिक्री गर्‍यो, तर त्यसको जानकारी भने नेपाल सरकारलाई दिएन ।

कोकाकोला साब्को र युरोपियन रिफ्रेसमेण्टबिचको सम्बन्ध
युएईको दुबईस्थित जुवेल अलि फ्री जोनमा फ्री जोन अफसोर कम्पनीका रूपमा सन् २००४ को फेब्रुअरीमा दर्ता भएको कोकाकोला साब्को एसिया लिमिटेडको शतप्रतिशत सेयर द कोकाकोला कम्पनीकै भातृ संस्था युरोपियन रिफ्रेसमेण्टको नाममा कायम छ । यता युरोपियन रिफ्रेसमेण्टको शतप्रतिशत सेयर द कोकाकोला कम्पनी अमेरिकाको नाममा कायम छ भने द कोकाकोला कम्पनी अमेरिकाको द कोकाकोला कम्पनीको फाउन्डर दक्षिण अफ्रिकास्थित गुत्से फेमिलीको अधिकांश सेयर स्वामित्व रहेको कम्पनी हो । अफसोर कम्पनीको रूपमा दर्ता भएको उक्त कम्पनीको प्यारेन्ट कम्पनीको रूपमा आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्ट रहेको र युरोपियन रिफ्रेसमेन्टको अल्टिमेट प्यारेन्ट कम्पनीको रूपमा अमेरिकास्थित द कोका कोला कम्पनी रहेको छ ।

त्यसैगरी सन् २०१४ अक्टोबर २४ मा कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर बिक्री गर्ने दक्षिण अफ्रिकास्थित कम्पनी कोकाकोला साब्कोको अल्टिमेट प्यारेन्ट कम्पनीको रूपमा दक्षिण अफ्रिकास्थित गुत्से फेमिली इन्भेष्टमेन्ट रहेको छ । दक्षिण अफ्रिकास्थित गुत्से फेमिली इन्भेष्टमेन्ट र त्यसको लगानीमा स्थापित कम्पनीहरू र अमेरिकास्थित द कोकाकोला कम्पनी र उसको लगानीमा स्थापित कम्पनीहरूबिच पेय पदार्थ उत्पादन र वितरण गर्ने विभिन्न कम्पनीहरूमा सह लगानी र सहकार्य गरी दक्षिण अफ्रिका लगायत विश्वका विभिन्न देशमा व्यवसाय सञ्चालन गर्ने गरेको पाइन्छ । यसबाट सन् २०१४ अक्टोबर २४ मा कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर बिक्री गरेको भनी पेस हुन आएको सेयर खरिद सम्झौता स्वतन्त्र पक्षहरूका बिचमा नभई सम्बद्ध पक्षहरूका बिच भएको स्पष्ट हुन्छ । सम्बद्ध पक्षहरूका बिच भएको सम्झौतामा उल्लिखित कारोबार मूल्य स्वतन्त्र बजार मूल्य नहुने र त्यस्तो मूल्यलाई वास्तविक कारोबार मूल्यको रूपमा मान्न नसकिने सिद्धान्त छ ।

चार्टमा हेर्नुहोस् अब यी कम्पनीहरूमा कसको कस्तो लगानी छ र सेयर स्वामित्वमा परिवर्तन भएपछि स्वामित्व कसकोमा कसरी गयो ।

सेयर बिक्रीलगत्तै कम्पनीको नाम नै परिवर्तन
कोकाकोलाको नेपालस्थित कम्पनी बोटलर्स नेपाल लिमिटेडमा रहेको आफ्नो सबै सेयर बिक्री गरेपछि युएईको कोकाकोला साब्को एसियाले आफ्नो कम्पनीको नाम नै परिवर्तन गर्‍यो । स्थापना भएको ठिक १० वर्षमा सन् २०१४ को अक्टोबर २४ मा नेपालको सबै सेयर बिक्री गरेको कम्पनीले त्यसको एक वर्षपछि कम्पनीको नाम नै परिवर्तन गरेर कोकाकोला साउथवेष्ट एसिया होल्डिङ्स लिमिटेड बनाएको छ । जुन कम्पनीको नाममा श्रीलङ्काको कोकाकोला बेभरेज श्रीलङ्काको नाममा ९९ दशमलव ४० प्रतिशत सेयर थियो ।

युएईस्थित कम्पनीको दायित्व र नाम परिवर्तन सबै सकिएपछि मात्रै कोकाकोलाले नेपालको सेयर बिक्री भइसकेको भनी जानकारी गराएको थियो ।

यसरी कोकाकोलाले नेपालको बोटलर्स नेपाल लिमिटेडमा रहेको आफ्नो सम्पूर्ण सेयर अर्थात् कुल सेयरको ७६ दशमलव १६ प्रतिशत सेयर आफ्नै कम्पनीलाई बिक्री गरेको थियो, त्यो पनि सन् २०११ मा गोर्खा ब्रुअरीले किनेको मूल्यभन्दा पनि धेरै सस्तोमा । यसबाट के बुझिन्छ भने एकपछि अर्को कम्पनीको नाममा विदेशबाट विदेशमै सेयर बिक्री गर्ने र लाभकर नतिर्ने । यही उद्देश्यबाट प्रेरित भएर कोकाकोलाले आफ्नो सबै सेयर बिक्री गरेको देखिन्छ ।

बहुराष्ट्रिय कम्पनीहरूले नेपालजस्ता विकासशील देशमा स्थापित कम्पनीहरूमा लाग्ने कर दायित्व कम गर्ने तथा अप्रत्यक्ष रूपमा मुनाफा फिर्ता लैजाने उद्देश्यले कर छुट हुने तथा कम कर लाग्ने मुलुकमा विभिन्न तहगतरुपमा कम्पनीहरू स्थापना गरी वास्तविक कारोबार रकम तथा मुनाफा लुकाइ विभिन्न प्रबन्धहरू गर्ने गर्दछन् । यस्ता प्रकारका प्रबन्धहरूका कारण आयआर्जनको वास्तविक स्रोत भएको देशको करारोपण गर्ने अधिकार कुण्ठित हुन गई त्यस्ता कम्पनीहरूबाट राजश्वको ठुलो हिस्सा चुहावट हुने गरेको छ ।

कोकाकोला लगायतका विभिन्न ब्राण्डको विश्वव्यापी रूपमा उत्पादन गर्ने मुख्य कम्पनी अमेरिकास्थित द कोकाकोला कम्पनी रहेको छ भने उक्त कम्पनीले विश्वका विभिन्न मुलुकमा आफ्नो प्रत्यक्ष अप्रत्यक्ष लगानीमार्फत विभिन्न कम्पनीहरू स्थापना गरी सञ्चालन गरेको पाइन्छ । नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको कोकाकोला साब्को एसिया संयुक्त अरब इमिरेट्सको दुबईस्थित जुवेल अलि फ्री जोनमा फ्री जोन अफसोर कम्पनीको रूपमा स्थापित भएको कम्पनी हो । उक्त कम्पनी स्थापनाको मुख्य उद्देश्य नेपालस्थित बोटलर्स नेपालको अधिकांश सेयर खरिद गरी सो कम्पनीमा नियन्त्रण कायम गर्नु रहेको देखिन्छ । उक्त कम्पनीबाट नेपाल र श्रीलङ्काको कोकाकोलालगायतका हल्का पेय पदार्थ उत्पादन गर्ने कम्पनीहरूमा अधिकांश सेयरमा लगानी गरी नियन्त्रण गरेको देखिन्छ । यो कम्पनी स्थापनाको उद्देश्य नै नेपाल र श्रीलङ्काको कम्पनीमाथि ट्याक्स फ्री कन्ट्रीबाट सञ्चालन र आधिपत्य जमाउनु रहेको देखिन्छ । त्यहीँबाट नै सेयर खरिद र बिक्री गरी नेपालमा कर नतिर्ने प्रपञ्च गरेको देखिन्छ ।

यदि वास्तविक मूल्यमा बिक्री गरेको भए खरिद गरेको मूल्यबाट बिक्री गरेको मूल्य घटाउँदा हुन आउने रकमको २५ प्रतिशत रकम पुँजीगत लाभकरका रूपमा नेपाल सरकारलाई तिर्नुपर्ने हुन्थ्यो । उसले खरिद गरेको मूल्यमा सेयर वृद्धि भई बिक्री गर्दाको समयमा भएको कुल सम्पत्तिमा भएको अन्तरको २५ प्रतिशत पुँजीगत लाभकर छली गर्नका लागि नै विदेशबाट विदेशमै सेयर खरिद बिक्री गरिएको थियो ।

नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको कोकाकोला साब्को एसिया कम्पनी दुबईमा फ्री जोन अफसोर कम्पनीको रूपमा स्थापित भएको थियो, जहाँ लाभकर तिर्नु पर्दैन । सो कम्पनीले आफू नाफामा नभई घाटामा बिक्री गरेको देखाउन खोजेको र दुबईमा लाभकर वा आयकर तिर्नु नपर्ने भन्दै नेपालमै उत्पादन र बिक्री वितरण गरी कमाएको नाफाबाट राज्यलाई तिर्नुपर्ने कर नतिर्ने प्रपञ्च गरेको थियो । तर यो प्रपञ्च नेपाल सरकारको जानकारी आए लगत्तै नेपाल सरकारले कर निर्धारण गरी उस विरुद्ध मुद्दा दायर गरेको छ ।

कोकाकोलाविरुद्ध ५ अर्बभन्दा बढीको कर निर्धारण, अदालतमा मुद्दा

कोकाकोलाको सेयर खरिद बिक्री हुँदा कम्तीमा १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ रुपैयाँ पुँजीगत लाभकर छली भएको भन्दै सोही रकमलाई बिगो कायम गरी बिगो बराबरको जरिवाना, ब्याज आदि रकम जोडेर कुल ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ बिगो तथा जरिवाना बुझाउनुपर्ने भन्दै उच्च अदालत पाटनमा राजश्व चुहावटको कसुरमा मुद्दा दायर गरेको थियो ।

उच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा ठुला करदाता कार्यालयले संशोधित कर निर्धारण गर्दै कुल ५ अर्ब ४२ करोड ४८ लाख ३९८ रुपैयाँ कायम गरी उक्त रकम बुझाउन ताकेता गरेको थियो ।

तर कोकाकोला भने यतिबेला ठुला करदाता कार्यालयको निर्णयविरुद्ध प्रशासकीय पुनरावलोकनका लागि पुगेको छ भने उच्च अदालत पाटनमा चलिरहेको मुद्दा तामेलीमा राख्न निवेदन बोकेर पुगेको छ ।

कानुनी व्यवस्था
कोकाकोलाले आफैँले आफैँलाई सेयर बिक्री गरेको देखाएर नेपाल सरकारलाई आयकर नतिर्ने रणनीति बनाएको थियो । जबकि कानुनले जुन देशमा आयआर्जन गरेको हो सो देशको कानुनले कर तिर्नुपर्ने व्यवस्था गरेको छ भने सोही देशमा कर तिर्नुपर्ने भन्ने व्यवस्था गरेको छ । तर बोटलर्स नेपाल लिमिटेडमा आफ्नो ७६ दशमलव १६ प्रतिशत सेयर स्वामित्व रहेको कोकाकोला साब्को एसियाले विदेशबाट विदेशमै सेयर खरिद–बिक्री भएको र आयकर वा लाभकर तिर्नु नपर्ने भन्ने देखाउन कोकाकोलाको सेयर बिक्रीको विषय नेपाल सरकारलाई जानकारीसमेत दिइएको थिएन ।

नेपालको कानुनमा भने नेपालको स्रोतबाट आर्जित मुनाफामा आयकर लाग्ने र सो कर नेपालमै तिर्नुपर्ने व्यवस्था छ । अधिकांश देशको करसम्बन्धी व्यवस्था पनि जुन देशमा आयआर्जन गर्ने हो, सोही देशमा कर तिर्नुपर्ने भन्ने नै छ ।

आयकर ऐन, २०५८ अनुसार बोटलर्स नेपाल लिमिटेडको सेयर वा सम्पत्ति बिक्री हुँदा त्यहाँ बढिबढाउ भएको रकममा २५ प्रतिशतका दरले लाभकर तिर्नुपर्ने हुन्छ । तर नेपालको स्रोतबाट आर्जित मुनाफामा आयकर ऐन, २०५८ बमोजिम कर दायित्वबाट उन्मुक्तिका लागि कर नलाग्ने मुलुकमा अफसोर कम्पनीको रूपमा कोकाकोला साब्को एसिया कम्पनी खडा गरी सेयर बिक्रीका माध्यमबाट अप्रत्यक्ष रूपमा मुनाफा लैजान उक्त कम्पनीले प्रबन्ध गरेको राजस्व अनुसन्धान विभागको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?