काठमाडौं । काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजमा शुक्रबारदेखि जारी १७औँ ‘केसीसी एक्जिबिट २०२४’ शनिबार आज सकिँदैछ ।
शनिबार गायिका एलिना चौहान, हास्य कलाकार जितु नेपालसहितका कलाकारहरुका प्रस्तुति, लाइभ म्युजिक, केसीसी आइडलको फाइनल राउन्डको कार्यक्रम हुँदैछ ।
कलेजकै विद्यार्थीहरूले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरू, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरू, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरू प्रदर्शनमा छन् ।
कलेज प्राङ्गणमै चलिरहेको प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गरिरहेका छन् इन्जिनियरिङतर्फका सिग्नेचर, ब्रिज, वेस्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्कोको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक म्यानेजमेन्ट विदाउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल लगायतका प्रोजेक्ट राखिएका छन् ।
यसै गरी आइटीतर्फ एआईको प्रयोगलगायत विविध विधाका ३० भन्दा बढी स्टल छन् । फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम र फुड स्टलमा विद्यार्थीहरु बढी आकर्षित छन् ।
कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, व्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन गराउँदै आएको छ ।
एक्जिबिट शुक्रबार बिहान उपप्रधान एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् । एक्जिबिटमा करिब १५ हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको प्रिन्सिपल राजु कट्टेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया