खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

लोकपथ
329
Shares

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्य चौकी र विद्यालय बगाएको थियो ।

बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फार्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मी क्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ ।

बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।

उक्त बाढी भोटेकोसी हुँदै दूध कोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूध कोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?