अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपाली नायिकालाई पहिलो पटक उत्कृष्ट अभिनयको अवार्ड

यसअघि दक्षिण एशियाका कुनै पनि कलाकारले यो अवार्ड जित्न नसकेको दाबी

लोकपथ
1.1k
Shares

काठमाडौं । दुई नेपाली चलचित्र साम्बला र द रेड सुटकेसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा फेरि ठूलो उपलब्धी प्राप्त भएको छ । स्विट्जरल्याण्डमा आयोजित ७७औँ अन्तर्राष्ट्रिय लोकार्नो फिल्म फेस्टिभल २०२४ मा नेपाली चलचित्र सम्बलाले उत्कृष्ट अभिनयका लागि मुख्य अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन् । अभिनेत्री थिन्लेले शनिबार यो अवार्ड महोत्सवमा ग्रहण गरेको यसका निर्देशक मीनबहादुर भामले बताए ।

यो अवार्ड प्राप्त गरेपछि निर्देशक भामले भने, ‘विश्व प्रतिष्ठित अन्तर्राष्ट्रिय लोकार्नो फिल्म फेस्टिभलमा हाम्रो चलचित्र चयन भएर प्रतिस्पर्धामा आउनु नै हाम्रो लागि गौरवको कुरा थियो । त्यसमा पनि साम्बला चलचित्रकी मुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जित्दा हामी निकै रोमाञ्चित र गौरवान्वित भएका छौँ ।’

दक्षिण एसियाली कलाकारले यस प्रकारको अवार्ड यो महोत्सवमा जितेको पहिलो पटक हो । यसअघि दक्षिण एशियाका कुनै पनि कलाकारले उत्कृष्ट अभिनय बापतको यो अवार्ड जित्न सकेका थिएनन् । निर्देशक भामले भने, ‘हामी साम्बला टीम, कलाकार थिन्लेलाई यस उदाहरणीय सफलताका लागि हार्दिक बधाई दिँदै आयोजक टिमप्रति आभार प्रकट गर्न चाहन्छौं । यो अवार्ड जित्नु थिन्लेको उत्कृष्ट अभिनयको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्वपूर्ण क्षण हो ।’

यो अवार्ड नेपाली कलाकारले जित्नुको अर्थ नेपाली चलचित्रको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास आफूहरुले लिएको उनले बताए । यही २८ भदौबाट नेपालमा प्रदर्शन हुने यो चलचित्र हिमाली भेगकी एक शेर्पा महिलाको संघर्ष कथामा आधारित छ । विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा चयन भएको यो अहिलेसम्मकै सबैभन्दा महंगो नेपाली चलचित्र मानिएको छ । यसको लागत १० करोड रुपैयाँभन्दा माथि रहेको छ ।

यस्तै फिडेल देवकोटा निर्देशित तथा रामकृष्ण पोखरेल निर्मित चलचित्र ‘द रेड सुटकेस’ले अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा शुक्रबार बेस्ट फिल्मको अवार्ड जितेको छ । फेस्टिभलमा ‘द रेड सुटकेस’ले ‘बेस्ट फिल्म अफ द सबकन्टिनेन्ट’ अवार्ड जितेको हो ।

निर्माता रामकृष्णले भने, ‘हामीले फेरि अर्को अन्तर्राष्ट्रिय अवार्ड हासिल गरेकोमा यो खुसी म र मेरो टिम सम्पूर्ण दर्शकमा साझा गर्न चाहन्छु ।’ उनले यो अवार्डका लागि सम्पूर्ण निर्माण टिमप्रति आभार व्यक्त गरेका छन् । ‘यो अवार्ड समग्र नेपाली सिनेमाकर्मी र नेपालीको उपलब्धी हो । यसले हाम्रा सिनेमा पनि कमजोर छैनन् भन्ने पुष्टि गरेको छ,’ उनले भने ।
नेपाली चलचित्र नेपालमा मात्र सीमित नरहेर अन्तर्राष्ट्रिय बजारमा पनि आफूलाई अब्बल रुपमा सावित गर्न सकेको उनले बताए ।
निर्माता पोखरेलका अनुसार भेनिस सिनेमा महोत्सवमा प्रिमियर भएको सिनेमा ‘द रेड सुटकेस’ले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यसले आधा दर्जन अन्तर्राष्ट्रिय अवार्ड हासिल गरिसकेको छ । यो चलचित्रमा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायत कलाकार मुख्य भूमिकामा छन् । यो चलचित्र नेपालमा गत चैत ३० गते रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?