काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । गत १६ साउनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन प्रकाशित गर्दै बोर्डमा अध्यक्ष बन्न चाहने चलचित्रकर्मीलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो । सो आह्वान अनुसार ३१ साउनसम्म अध्यक्षको लागि ६ जनाको आवेदन परेको चलचित्र विकास बोर्डका सदस्य सचिव राजेशकुमार थापाले बताए ।
सञ्चार मन्त्रालयले आवेदन मागेका कारण सो मन्त्रालयमै पुगेर ६ जनाले आवेदन दिएका हुन् । बोर्ड अध्यक्षका लागि आवेदन दिनेमा चलचित्र निर्देशकहरु दिनेशराज दाहाल (डिसी), राजेश थापा, दीपा पाण्डे बस्नेत, प्रकाश भट्टराई, अभिनेत्री करिश्मा मानन्धर र चलचित्र निर्माता एवं गायक अर्जुनकुमार डंगोल रहेका छन् ।
बोर्ड सदस्य सचिव राजेशकुमार थापाका अनुसार अब यी ६ जना उम्मेदवारबाट उनीहरुको बारेमा अध्ययन गरेर सिफारिस समितिले बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । ती तीन जनाबाट मन्त्रिपरिषदले एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ । बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ । बोर्ड अध्यक्ष कार्यकारी रुपमा रहने छन् ।
यही भदौको दोश्रो सातासम्म बोर्डले नयाँ अध्यक्ष पाउने छ ।
बोर्डका अध्यक्ष भुवन केसीको गत ९ साउनमा दुई वर्षको अध्यक्षको कार्यकाल सकिएको थियो । त्यसपछि रिक्त रहेको बोर्ड अध्यक्षमा नियुक्तिको तयारी भइरहेको हो । बोर्ड अध्यक्षमा उम्मेदवारी दिने ६ जनामध्ये चार जना निर्देशक हुन् भने एक जना निर्माता र एकजना अभिनेत्री हुन् । यी ६ जनामध्ये अध्यक्षका लागि दिनेशराज दाहाल (डिसी), राजेश थापा र करिश्मा मानन्धरको सक्रियता बढी देखिएको छ ।
अध्यक्ष बन्ने दौडमा रहेकी अभिनेत्री करिश्मा मानन्धर विगत ३६ वर्षदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय छिन् । यो साढे तीन दशकको चलचित्र यात्रामा ६ दर्जन भन्दा बढी चलचित्रमा नायिकाको रुपमा उनले काम गरिसकेकी छिन् । २०४५ सालमा निर्माण भएको चलचित्र ‘सन्तान’ देखि यतिबेला छायाँकन भइरहेको चलचित्र माइलीसम्म नेपाली चलचित्र उद्योगमा आफ्नो यात्रा अनवरत रुपमा रहेको यी अभिनेत्रीले बताएकी छिन् । यी अभिनेत्री यतिबेला स्नातक तहमा अध्ययनरत छिन् ।
यस्तै कलाकार तथा निर्देशक दिनेशराज दाहाल (डिसी) २०५० बाट कलाकारको रुपमा ट्वाक्क टुक्क कमेडी कार्यक्रममार्फत् नेपाली चलचित्र उद्योगमा प्रवेश गरेका हुन् । उनी सञ्चारकर्मी पनि हुन् । चलचित्र सुनचाँदी र शंकरमार्फत खलचरित्रको रुपमा अभिनय यात्रा अघि बढाएका दिनेशले करिब ५ दर्जन चलचित्रमा काम गरिसकेका छन् । मायाज बार, ६ एकान ६, फूलैफूलको मौसम तिमीलाई जस्ता चलचित्र तथा करिब दुई दर्जन टेली चलचित्रको निर्देशन गरेका उनी चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउँदै स्वेदशी चलचित्रको विकासका लागि बोर्ड अध्यक्षमा आवेदन दिएको बताउँछन् । उनी नेकपा एमालेनिकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष पनि हुन् । उनी विज्ञानमा स्नातक हुन् ।
यस्तै अध्यक्षका अर्का दाबेदार राजेश थापाले चलचित्र बलिदानबाट निर्माण नियन्त्रकको रुपमा २०५२ सालबाट चलचित्र यात्रा सुरु गरेका हुन् । अस्कर कलेज अफ फिल्म स्टडिजबाट चलचित्र निर्देशनमा स्नातक गरेका राजेशले मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । हालसम्म १३ वटा वृत्तचित्र र करिब पाँच दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका थापा नयाँ चलचित्र निर्देशनको तयारीमा रहेको बताउँछन् । यसअघि चलचित्र सेन्सर बोर्डका सदस्य र सांस्कृतिक संस्थानका महाप्रबन्धक समेत भइसकेका राजेश नेपाली चलचित्रको स्तर माथि उठाउँदै राष्ट्रिय चलचित्र नीति ल्याउन र समग्र नेपाली चलचित्र उद्योगको हितमा काम गर्न अध्यक्षमा आवेदन दिएको बताउँछन् । उनी एमाले सम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघका उपाध्यक्षसमेत हुन् ।
यस्तै अस्कर कलेज अफ फिल्म स्टडिजबाट चलचित्र निर्देशनमा स्नातक गरेकी दीपा बस्नेत विगत डेढ दशकदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय छिन् । चलचित्र अन्तराल र श्री ५ अम्बरे गरी दुई चलचित्र निर्देशन गरेकी दीपा चलचित्र विकास बोर्डमा महिलाहरुको नेतृत्व हुनुपर्छ भन्ने पक्षमा छिन् । नेपाली चलचित्र उद्योगको हितमा काम गर्न आफूले अध्यक्षमा उम्मेदवारी दिएको दीपाको कथन छ ।
यस्तै अध्यक्षमा उम्मेदवारी दिएका डंगोलले दुई दशक अघिबाट गायकको रुपमा कला क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका थिए । चलचित्रमा भने उनले निर्माताको रुपमा यात्रा अघि बढाएका छन् । चपली हाइटको तीन वटै सृंखला, फाटेको जुत्ता जस्ता चलचित्र निर्माण गरिसकेका डंगोल यतिबेला नयाँ चलचित्र सानो संसारको निर्माणमा छन् । यसअघि चलचित्र विकास बोर्डको सदस्य भएर काम गरेको अनुभव आफूसँग भएकाले बोर्ड अध्यक्षको रुपमा आवेदन दिएको उनको भनाइ छ । बोर्डमा गएर गर्नु पर्ने थुप्रै कामहरु रहेको यी निर्माताले बताएका छन् ।
बोर्डका अर्का पूर्व सदस्य प्रकाश भट्टराईले पनि बोर्ड अध्यक्षमा यतिबेला निवेदन दिएका छन् । बोर्डमा रदस्य भएर काम गर्दाको अनुभव आफूसँग रहेकाले बोर्ड अध्यक्षको रुपमा उम्मेदवारी दिएको यिनले बताएका छन् । स्नातकसम्मको अध्ययन गरेका प्रकाश विगत दुई दशकदेखि नेपाली चलचित्र उद्योगमा छन् । उनी राष्ट्रिय जनसांस्कृतिक महासंघमा आबद्ध छन् । उनीहरुले अब सञ्चार मन्त्रालयले माग गरेबमोजिम चलचित्र विकास बोर्डमा अध्यक्ष भएर आफूले गर्ने कामहरुको बारेमा परियोजना बुझाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया