तीन दिनको लगातार सुनुवाइपछि बेचन झालाई थुनामा पठाउने आदेश

लोकपथ
336
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार झालाई थुनामा पठाउने आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई अहिले नै निर्दोष मान्न नसकिने भन्दै थुनामा पठाउने आदेश गरेका हुन् । साउन ३० गतेदेखि लगातार तीन दिनको थुनछेक बहसपछि झालाई आइतबार थुनामा पठाउने आदेश भएको हो ।

प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन २९ गते काठमाडौं जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर गरेको थियो । झविरुद्ध ठगी, लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

झाले नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै राज्य संयन्त्र र राजनीतिक नेतृत्व मिलाउन भन्दै २ करोड रुपैयाँ लिएको आरोप छ । झा ले २ करोड रुपैयाँको चेक लिएको भए पनि उक्त चेक नसाटिएको बताइएको छ ।

पक्राउ परेका अन्य व्यक्तिहरुको बयानका आधारमा बेचन झालाई प्रहरीले पक्राउ गरेको थियो । झा पक्राउसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य व्यक्तिहरुको संलग्नतासमेत खुल्ने दाबी गरिएको भए पनि झले आफ्नो बयानमा भने कसैलाई पोलेका छैनन् । बरु नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको, कसैसँग लेनदेन नगरेको र उच्च तहका सरकारी कर्मचारी र राजनीतिक नेतृत्वसँग चिनजानसमेत नभएका बयान दिएका छन् ।

तीन दिन लगातार चलेको थुनछेक बहसमा झाका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा र महादेव यादव तथा अधिवक्ताहरु पुरुषोत्तम अर्याल र मणिराम उपाध्याय लगायतले बहस गरेका थिए ।

झाले प्रहरीलाई मौकामा दिएको बयानसमेत होइन भनी अदालतमा प्रतिकुल बयान दिएका थिए । घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफ्नो बचाउ गरे पनि न्यायाधीश केसीले प्रतिवादी बेचन झालाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?