राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

लोकपथ
105
Shares

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत एमबीबीएस अध्ययन सुरु गर्न बाटो खुलेको छ । नेपाल सरकार अन्तर्गतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले श्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ । 

गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरु गर्ने घोषणा गरेका थिए । मन्त्रालयले ५ करोड विनियोजन गरे पनि थप श्रोत सुनिश्चित नहुँदा पढाइ सुरु गर्न सकिएको थिएन । 

मन्त्रालयले अर्थसँग समन्वय गरे पछि हालै रकम सुनिश्चित बनेको हो । दुवै प्रतिष्ठानले ५ वर्ष अघि पूर्वाधार विकास गरेर बसेका थिए । तर मन्त्रालयगत बजेट नै नआउँदा अघि बढ्न नसकेको कार्यक्रम यसपाली अघि बढेको हो । 

अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ । 

उनले भने, ‘देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो । प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौँ ।’  

मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र ३ सय बेडभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ । 

यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?