बेचन झालाई थुनामा पठाउने यी हुन् अदालतको आधार

लोकपथ
350
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

तत्काल प्राप्त प्रमाणबाट झा कसुरदार होइनन् भनी मान्न नसकिने भन्दै अदालतले झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले तीनदिनको लगातार सुनुवाइपछि झालाई ‘अहिले नै निर्दोष मान्न नसकिने’ भन्दै थुनामा पठाउने आदेश गरेका हुन् ।

गत साउन ३० गतेदेखि लगातार तीन दिनको थुनछेक बहसपछि झालाई आइतबार थुनामा पठाउने आदेश भएको हो ।

प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन २९ गते काठमाडौं जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर गरेको थियो । झविरुद्ध ठगी, लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

झाले नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै राज्य संयन्त्र र राजनीतिक तथा मन्त्रिपरिषद्मै सेटिङ मिलाउने भन्दै २ करोड रुपैयाँको चेक र २ करोड नगद लिएको आरोप छ ।

यद्यपि २ करोडको चेक भने साटिएको थिएन ।

तीन दिन लगातार चलेको थुनछेक बहसमा झाका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा र महादेव यादव तथा अधिवक्ताहरु पुरुषोत्तम अर्याल र मणिराम उपाध्याय लगायतले बहस गरेका थिए ।

तीन दिनको लगातार सुनुवाइपछि भएको थुनछेक आदेशमा अदालतले झा लाई थुनामा पठाउने आदेश दिएको थियो । झालाई थुनामा पठाउन अदालतले लिएको आधारमा, सहप्रतिवादीहरुको मौकाको बयान, झा र रामशरण केसीबिच भएको अडियो कुराकानीको रेकर्ड, भिडियो, बैंकमा २ करोडको चेक दाखिला गरिएको प्रमाण आदिलाई लिइएको छ ।

अदालतको आदेशको बुँदा नम्बर ९ मा भनिएको छ, ‘प्रतिवादी बेचन झाले अनुसन्धानको क्रममा तथा अदालत समक्ष आरोपित कसूरमा इन्कार रही बयान गरे तापनि उपरोक्त तथ्यहरुबाट प्रस्तुत मुद्दामा मिसिल संलग्न जाहेरी दरखास्त, घटना विवरण कागज गर्ने रामशरण केसीले अनुसन्धानको क्रममा बेचन झालाई दुई करोडको चेक दिएको तथा हरिभक्त महर्जनले बेचन झालाई दुई करोड रुपैयाँ नगदै दिएको भनी मलाई भनेका थिए भनी कागज गरेको तथा यसै मुद्दाको मूल मुद्दामा अदालतसमक्ष बेचन झासँग चेकको विषयमा भएको कुराकानीको अडियो पेश गरेको छु । भनी बयान गरेको, घटना विवरण कागज गर्ने श्याम कृष्ण श्रेष्ठले रामशरण केसीसँग सँगै बानेश्वरमा गई बेचन झालाई निजले चेक दिँदा मोबाइलमा भिडियो खिचेको भनी तथा कन्चन श्रेष्ठले बेचन झाले राम शरण केसीको नाममा रहेको हिमालयन बैंक लि. रु. २,००,००,०००।–(दुई करोड) चेक बेचन झाको नेपाल इन्भेष्टमेण्ट बैंक लि। को खातामा जम्मा गरिदिनु भनि मलाई दिएकोले मैले सो चेक निजको खातामा लगि चेक भुक्तानीको लागि पेस गरेकोमा भोलिपल्ट चेक साटिएन फिर्ता लिन आउनु भनी बैंकबाट फोन आएकोमा उक्त चेक फिर्ता ल्याई बेचन झालाई दिएको हुँ भनी कागज गरेको, मिसिल संलग्न रामशरण केसीको नाउँको हिमालयन बैंकको खाताको बेचन झाको नाउँमा जारी भएको दुई करोडको चेकको प्रतिलिपि र उक्त चेकबाट बेचन झाको खातामा रकम जम्मा गर्न भरेको भौचरको प्रतिलिपि समेतका मिसिल संलग्न प्रमाणबाट यी प्रतिवादीले नेपाली नागरिक जाहेरवालालाई भुटानी शरणार्थी बनाई सरकारी कोटामा अमेरिका पठाउने कार्यमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने वस्तुनिष्ठ प्रमाण नदेखिएकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल यी प्रतिवादी बेचन झालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम नियमानुसारको सिधा खान पाउने गरी पुर्पक्षको लागि थुनामा राख्न काठमाडौंस्थित कारागार कार्यालय जगन्नाथदेवलमा पठाई दिनु ।

यस्तो छ आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?