मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन गर्न माग

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन, २०६४, अन्तर्राष्ट्रिय महासन्धि ‘पालेर्मो प्रोटोकल’अनुसार संशोधन गर्नुपर्ने सरोकारवालाको माग रहेको छ ।

संयुक्त राष्ट्रसंघले अन्तरदेशीय संगठित अपराधलाई संयुक्त रुपमा सम्बोधन गर्न अन्तरदेशीय संगठित अपराधविरुद्ध महासन्धि जारी गरेको थियो । तीन वटा ‘प्रोटोकल’ समेटिएको ‘पालेर्मो प्रोटोकल’लाई नेपालले १६ जुन २०२० मा अनुमोदन गरेको थियो ।

प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले उक्त ऐन संशोधनका बुँदा प्रस्तुत गरेको थियो ।

मानव बेचबिखनविरुद्ध काम गर्ने ४४ वटा संस्थाको संगठित समूह (एटविन) का कार्यकारी निर्देशक बिनु माया गुरुङले ऐनको परिभाषा नै संकुचित रहेको बताए । उनका अनुसार ऐनमा महिलाको शारीरिक बेचबिखन मात्रै मावन बेचबिखनमा साँघुरो पारिएको छ । यसलाई ‘पालेर्मो प्रोटोकल’मा उल्लेख गरे जस्तै, श्रम शोषणबारे पनि सम्बोधन गरिनुपर्ने उनको भनाइ छ । पीडितको गोपनीयता, बाल अधिकार, बाल शोषणजस्ता विषयमा ऐन संशोधनको आवश्यकता रहेको उनले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?