मन्त्रिपरिषदबाट निर्णय गराउने भन्दै बेचनले लिएका थिए २ करोड नगद र २ करोडको चेक

झा लाई बानेश्वमा चेक दिँदै गर्दा खिचिएको थियो गोप्य भिडियो

लोकपथ
658
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहका पछिल्लो सदस्य बेचन झा पनि अन्ततः पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

काठमाडौं जिल्ला अदालतले झालाई आइतबार पुर्पक्षका थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् । झालाई कारागार कार्यालय जगन्नाथदेवलमा पठाउन आदेश दिइएको छ ।

प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन २९ गते काठमाडौं जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर गरेको थियो । झविरुद्ध ठगी, लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

झाले नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी राज्य संयन्त्र र राजनीतिक तथा मन्त्रिपरिषद्मै सेटिङ मिलाउने विश्वास दिलाई २ करोड रुपैयाँको चेक र २ करोड नगद लिएको आरोप छ । यद्यपि २ करोडको चेक भने साटिएको थिएन ।

तीन दिन लगातार चलेको थुनछेक बहसमा झाका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा र महादेव यादव तथा अधिवक्ताहरु पुरुषोत्तम अर्याल र मणिराम उपाध्याय लगायतले बहस गरेका थिए ।

तीन दिनको लगातार सुनुवाइप्छि भएको थुनछेक आदेशमा अदालतले झा लाई थुनामा पठाउने आदेश दिएको थियो । झालाई थुनामा पठाउन अदालतले लिएको आधारमा, सहप्रतिवादीहरुको मौकाको बयान, झा र रामशरण केसीबिच भएको अडियो कुराकानीको रेकर्ड, भिडियो, बैंकमा २ करोडको चेक दाखिला गरिएको प्रमाण आदिलाई लिइएको छ ।

झाविरुद्ध बयान दिने क्रममा रामशरण केसीले क्रा पक्राउ परेपछि ततिम्बा बयानसमेत दिएका छन् । केसीको ततिम्बा बयानमा आफूले २ करोडको चेक दिएको र पछि अर्का प्रतिवादीसँग २ करोड नगदसमेत लिएको उल्लेख छ । साथै केसीले दिएको चेकसमेत बैंकमा सटहीका लागि गएको र चेक नसाटिएपछि फिर्ता भएको उल्लेख छ ।

अनुसन्धान अधिकारीसमक्ष रामशरण केसीले दिएको ततिम्बा बयान यस्तो छ :

यसमा मैले मिति २०७८।०८।८ गते रातको २०ः०० को समयमा मेरो नामको हिमालयन बैंकको खाताको रु २,००,००,०००।– को चेक लिने बेचन झा नाम गरेका व्यक्ति हाल मेरो सामुन्ने उपस्थित भएका यिनै व्यक्ति हुन् । निज तत्काल काठमाडौं जिल्लाको बानेश्वरमा बस्दथे । भुटानी शरणार्थीको नाममा नेपालीहरुलाई अमेरिका लैजानका लागि मिति २०७८।०८।१३ गतेको मन्त्रिपरिषदको बैठकबाट केही निर्णयहरू हुन लागेको छ उक्त निर्णय गराउन बेचन झाले केही रकमहरु मागेका छन् उनीलाई चेक काटिदिनु सो चेक ग्यारेन्टीको लागि मात्र हो, चेक नदिए काम हुँदैन भनि मलाई प्रतिवादी सानु भण्डारीले भनेको हुनाले मेरो आफ्नै र मेरा अन्य मानिसहरुको भुटानी शरणार्थीको नाममा अमेरिका जाने सन्दर्भमा ठूलो रकम सानु भण्डारी समेतलाई दिई सकेको हुनाले मैले बाध्य भई मिति २०७८।०८।८ गते रातको २०ः०० को समयमा मेरो नामको हिमालयन बैंकको खाताको रु. २,००,००,०००।– को चेक यिनै बेचन झालाई दिएको हुँ । यी बेचन झाले मैले चेक दिँदाको बखत निलो रङको ट्रयाकमा बाहुला र सुरुवालको साइडमा सेतो धर्का भएको कपडा र स्पोर्ट जुत्ता र सेतो रङको उनी टोपी लगाएका थिए भने मैले रातो रङको ज्याकेट र धर्के उनी टोपी समेत लगाएको थिएँ, सो कुरा भिडियोमा पनि देखिन्छ, चेक दिने र लिने भई सकेपछि निज र म छुट्टिएका हौँ । निजलाई चेक दिनको लागि म र जिल्ला रामेछाप स्थायी वतन भई हाल काठमाडौंको हात्तीगौंडा बस्ने श्यामकृष्ण श्रेष्ठ नामको मेरो साथी गएका थियौँ । मैले उक्त चेक दिँदा भिडियो खिच्ने व्यक्ति निजै श्यामकृष्ण श्रेष्ठ हुन् । उक्त दिन निज बेचन झा लाई चेक दिन जाँदा निजसँग मेरो मोबाइलबाट निजको मोबाईलमा कुरा गरेको अडियो रेकर्डहरु २ (दुई) थान र निजलाई चेक दिई सकेपछि भुटानी शरणार्थीहरुको सम्बन्धमा मन्त्रिपरिषदको बैठकबाट निर्णयहरू भए नभएको सम्बन्धमा बुझ्नको लागि निजसँग मैले गरेको फोन सम्वाद रहेको अडियो रेकर्ड थान १ (एक) समेत यसै कागजसाथ पेश गरेको छु । निजले म बाट पाएको चेक कुनै पनि बैंकमा पेस गरेको मलाई जानकारी छैन, तर सो बखत ग्यारेन्टीको लागि भनि मेरो नामको चेक दिएकोमा सो चेक बराबरको रकम अर्का प्रतिवादी हरिभक्त महर्जनबाट यिनै बेचन झा ले नगदै लिएको भन्ने जानकारी म र हरिभक्त महर्जन पक्राउ परि अदालतमा थुनछेकको लागि पेश भएका बखत खाजा ब्रेकको समयमा मलाई हरिभक्त महर्जनले भनेका थिए । निज बेचन झा लाई सनाखत समेत गरी मेरो भएको ब्यहोरा खुलाई दिएको छु, व्यहोरा फरक छैन ।

यता बेचन झाको नाममा जारी भएको २ करोडको चेक सटहीका लागि बैंकमा पुगेको समेत खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा बेचन झको श्रीमतीले चलाएको एक प्राइभेट अफिसमा जागिर खाने कर्मचारी कञ्चन श्रेष्ठले उक्त चेक सटहीका लागि झाको खातामा चेक डिपोजिट गरिएको तर खातामा रकम नभएको कारण नसाटिएकाले पछि झा लाई नै ल्याएर फिर्ता दिएको बयान दिएका छन् ।

हेर्नुहोस् कञ्चन श्रेष्ठको घटना विवरण कागज :

म विगत ४ वर्ष देखि काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.१० थापागाउँमा रहेको बेचन झाको श्रीमती चन्द्रिका झाले संचालन गरेको विभान्सु ब्रदर्श प्रालिमा मासिक तलब खाने गरी काम गर्दै आईरहेको छु । म उक्त प्रालिमा काम गर्दा मलाई बैंकमा गई चेक जम्मा गर्ने, रकम निकालेर ल्याउने र कम्पनीको अभिलेख राख्ने समेतको जिम्मेवारी दिएको थियो । यसै क्रममा हाल पक्राउ परी हिरासतमा रहेका बेचन झा म अफिसमा नै भएको अवस्थामा एकिन मिति थाहा भएन हाल बैंकबाट प्राप्त पत्र अनुसार मिति २०७८।०८।२३ गते बेचन झाले रामशरण केसीको नाममा हिमालयन बैंक लि.मा रहेको खाता नं.०४६०५९६१७१००१८ बाट जारी भएको चेक नं. ००३०४१३२२०।।०७०१।। मा बेचन झा र रकमको महलमा रु. २,००,००,०००।– लेखिएको चेक मलाई दिई सो चेक नेपाल इन्भेष्टमेण्ट बैंक लि. मा रहेको मेरो खाता नं.०१२०५०८०३६५६९७ मा जम्मा गरिदिनु भनि मलाई दिएकोले मैले सो चेक निज बेचन झाले भनेको खातामा लगि चेक भुक्तानीको लागि पेस गरेको हुँ । सो चेक जम्मा गरेको भौचर मैले बेचन झालाई दिएकोमा सो चेक जम्मा गरेको भोलिपल्ट चेक साटिएन फिर्ता लिन आउनु भनि बैंकबाट मलाई फोन गरी बोलाएकोले म बैंकमा गई मैले बेचन झाको खातामा जम्मा गरेको रु. २,००,००,०००।– को चेक फिर्ता ल्याई बेचन झालाई दिएको हुँ । उक्त चेक बेचन झाले के कहाँबाट, कोसँग, के प्रयोजनका लागि ल्याएका हुन मलाई थाहा भएन । हाल जिल्ला प्रहरी परिसर भद्रकालीबाट मलाई फोन गरी चेकको विषयमा मलाई सोधपुछ गर्दा उक्त चेक बेचन झाले राम शरण केसीबाट लिएको भन्ने कुरा थाहा पाएको हुँ । अन्य कुरा मलाई थाहा भएन ।

यता बेचन झाले भने अनुसन्धान अधिकारीसमक्ष भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भनी इन्कारी बयान दिएका छन् । यद्यपि उनले आफूसँग रहेको भारतीय कागजात भने आफ्नो नै रहेको बयान दिएका छन् ।

यस्तो छ, अनुसन्धान अधिकारीसमक्ष बेचन झा को बयान :

‘… मलाई प्रहरी हिरासतमा राख्दा आफन्तसँग भेटघाट गर्न पाइरहेको छु । प्रहरी हिरासतमा अन्य कुनै शारीरिक र मानसिक यातना दिईएको छैन । मिसिल संलग्न मिति २०८१।०३।१४ गतेको दाखिला प्रतिवेदन साथ पेस भएको सामसुङ कम्पनीको खरानी रङको मोबाइल, एप्पल कम्पनीको आकाशे रङको मोबाइल, रातो रङको २०२४ लेखिएको डायरीहरु मलाई देखाउँदा देखें र चिनें । उक्त मोबाइल समेत मेरो हो । सो मोबाइलहरु मैले आज भन्दा अन्दाजी १ वर्षभित्र खरिद गरी चलाएको हुन सक्छ, एकिन मिति थाहा भएन । मिसिल संलग्न मिति २०८१।०३।२८ गतेको प्रतिवेदन साथ पेश भएको कालो रङको पर्स–१, BECHAN JHA भारत सरकार लेखिएको आधार कार्ड थान १, र Bechan Jha आयकर विभाग भारत सरकार लेखिएको कार्ड थान १ समेत मलाई देखाउदा देखि पाएँ । उक्त पर्स र कार्डहरु मेरो हो, हेरी चिनी सनाखत समेत गरि दिएँ । भुटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन । म कुनै राजनैतिक पार्टीमा आवद्ध व्यक्ति होईन । टेक नारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत केही नभएकोले निजले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानुन् । चेकको सम्बन्धमा मलाई केही जानकारी छैन । अडियोहरुमा भएको संवाद मेरो होइन । भिडियोमा देखिएको व्यक्तिहरु को को हुन मलाई थाहा भएन । म मेरो आवाज परीक्षण गर्न मन्जुर छु । श्यामकृष्ण श्रेष्ठलाई म चिन्दिन, निजले के बयान दिएका छन् मलाई सरोकार छैन । हरिभक्त महर्जनलाई म चिन्दिन, मैले निजबाट कुनै पनि रकम लिएको छैन, उसले कहाँ के बयान दिएका छन्, उ नै जानुन ।


यसरी बेचन झालाई मन्त्रिपरिषद्को सेटिङ मिलाउन भन्दै २ करोडको चेक दिने रामशरण केसी, चेक दिँदै गर्दाको भिडियो खिच्ने व्यक्ति, २ करोड नगद दिने हरिभक्त महर्जन र चेक सटही गर्न जाने कञ्चन श्रेष्ठको बयानले पनि बेचनले चेक वा आर्थिक कारोबार गरेको पुष्टि भएबाट अदालतले झा लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

यो पनि

तीन दिनको लगातार सुनुवाइपछि बेचन झालाई थुनामा पठाउने आदेश

बेचन झालाई थुनामा पठाउने यी हुन् अदालतको आधार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?