काठमाडौं । विशिष्ट व्यक्तिहरुको फोटो प्रयोग गरि विभिन्न अश्लिल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाजुराका छेडेदह गाउँपालिका–५ का २२ वर्षीय रमेश बहादुर रावत रहेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले रावतलाई गत साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए ।
रावतले विशिष्ट व्यक्तिहरुको फोटो र सामान्य खालका भिडियोमा एआई लगायत अन्य प्रविधिको प्रयोग गरी अश्लिल भिडियो बनाउने गरेका थिए ।
‘पकाउ परेका रमेशले अन्य विशिष्ट व्यक्तिहरुको अश्लिल भिडियो बनाउने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो,’ उनले लोकपथसँग भने, ‘काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरको अश्लिल भिडियो बनाउने व्यक्तिलाई हामी खोज्दै छौँ ।’
उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को कसुर अनुसार कारबाही हुने ब्यूरोले जनाएको छ ।
त्यस्तै ब्यूरोले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलको सामान्य भिडियो प्रयोग गरी अश्लिल भिडियो बनाउने व्यक्तिलाई खोजिरहेको अवस्थीले बताए । उपमेयर डंगोलले ब्यूरोमा निवेदन दिनुभन्दा पहिला नै त्यसबारे अनुसन्धान भइरहेको उनले बताए ।
*यसअघि केही त्रुटी भएकाले क्षमायाचनासहित सच्याएका छौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया