काठमाडौं । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
यही भदौ २ गते राति १ बजे परेको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा धामीको परिवारका चार जनाले ज्यान गुमाएका थिए ।
मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै तत्काल उद्धार तथा राहत कार्यमा सङ्लग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया