काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेकी छिन् ।
सोमबार साँझ नयाँ दिल्लीमा भएको भेटवार्तामा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा छलफल भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् ।
त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देशसहित मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएकी छिन् ।
‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु,’ परराष्ट्रमन्त्री राणाले भनेकी छिन् ।
त्यसो त राणाले आजै भारतका समकक्षी डा. एस जयशंकरसँग समेत भेट गरेकी थिइन् ।
राणाले मन्त्री बनेपछि पहिलो पटक बाह्य देशको रुपमा भारतको भ्रमण गरेकी हुन् । आइतबार नयाँ दिल्ली पुगेकी राणा आगामी भदौ ६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया