काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा व्यापक अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म मुद्दा पुगेको छ । २०८१ साल साउन २७ गते सी ००८५६९ / २०८० चैत १२ मा सी ६५२३४३ मा अख्तियारमा मुद्दा दर्ता भएको हो । त्यसबाहेक आधा दर्जन मुद्दा अख्तियारमा दर्ता छन् ।
केन्द्रका कार्यकारी निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठ छन् । २७ साउनमा दर्ता भएको मुद्दामा डा. श्रेष्ठले नै तीन जना कलेजोका बिरामीको कानुनविपरीत प्रत्यारोपण गरेको विषय उल्लेख गरिएको छ । यस्तै, प्रत्यारोपण केन्द्रको नेतृत्वले केन्द्रलाई धरासायी बनाउने नियतले विभिन्न तरिकाबाट अनियमितता गरेको आशंकासहित स्थानीयले अनुसन्धानका लागि अख्तियार गुहारेका हुन् ।
अख्तियारमा दायर मुद्दामा केन्द्रमा उपकरण खरिद, कर्मचारी भर्ना र कार्यकारी निर्देशक नियुक्तिसम्मका क्रियाकलापमा नीतिगतदेखि आर्थिक अनियमितताको आशंका गर्दै अनुसन्धान गर्न माग गरिएको छ ।
प्रत्यारोपण केन्द्रमा कार्यरत केही चिकित्सकले अन्य अस्पतालमा गएर पार्टटाइम काम गर्ने गरेको, करोडौंको उपकरण थन्क्याएर राज्यको सम्पत्ति उपयोगविहीन बनाइएको साथै गैरकानुनी रूपमा अंग प्रत्यारोपण गरेको लगायतका विषयलाई लिएर अस्पतालभित्रकै कर्मचारी, बिरामी र स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गएका छन् ।
नेपाल सरकार (खण्ड ६६) अतिरिक्तांक १४‘क’ नेपाल राजपत्र भाग ३ (मंसिर २०७३) मा प्रकाशित कलेजो प्रत्यारोपणका लागि डकम्पेनसैटेड सिरोसिस भएका बिरामीले कलेजो प्रत्यारोपणका लागि चाहिने मापदण्ड श्रेणी ‘मिडल फर इन्ड स्टेज लिभर डिजिज’ तालिका ‘ए’ प्राप्तांक १५ भन्दा माथि हुनुपर्ने व्यवस्था स्पष्ट हुँदाहुँदै डा. श्रेष्ठले १५ भन्दा कम अंक भएको एमईएलडी १० का एक जना, एमईएलडी १२ का दुई जना बिरामीको कानुनमा व्यवस्था भएको एमईएलडी तालिकाविपरीत प्रत्यारोपण गरेको भन्दै डा. श्रेष्ठमाथि गम्भीर छानबिन हुनुपर्ने माग राखिएको छ । यसअघि पनि उनीमाथि नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोप लागेको थियो भने उमेरहद नाघेर र विभिन्न काण्डमा उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो ।
डा. श्रेष्ठको नियुक्ति प्रक्रियाले शंका पैदा गराएको जानकारहरू बताउँछन् । पैसा र शक्तिलाई परिचालन गरेर डा. श्रेष्ठले अस्पताल विकास समितिको गठन आदेश आफूअनुकूल संशोधन गराएर मन्त्रिपरिषद्बाट पारित गराएपछि यस विषयलाई चासोका साथ हेरिएको छ ।
अनियमितता र बेथितिविरुद्ध स्थानीयवासी निरन्तर आन्दोलनमा छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सहभागी साउन २९ गतेको कार्यक्रममा स्थानीयले कालो ब्यानरसहित प्रदर्शन गरेपछि स्वास्थ्यमन्त्री पौडेलले पनि यसलाई गम्भीरतापूर्वक लिएका छन् ।
उनको कार्यशैली र विवादास्पद निर्णयविरुद्ध स्थानीय विगत एक वर्षदेखि संघर्षरत रहँदै आएका छन् । त्यसअघि पनि अस्पताल व्यवस्थापनविरुद्ध कर्मचारी र स्थानीयले पटकपटक आन्दोलन गरेका थिए ।केन्द्रको पहिलो कार्यकारी निर्देशक भएर प्रत्यारोपण सेवा विस्तार गर्न भूमिका निर्वाह गरेका डा. श्रेष्ठको कार्यशैली, हठ र मनोमानीविरुद्ध स्थानीयवासी एवं अस्पतालका कर्मचारी नै आन्दोलनमा उत्रिएपछि भ्रष्टाचार भएको अनुमान विगतदेखि नै गरिएको थियो । तर, विश्व अंगदान दिवसका अवसरमा गत २९ साउनमा मन्त्री नै प्रमुख अतिथि बनेर सहभागी भएको कार्यक्रममै स्थानीयले प्रदर्शन गरेपछि डा. श्रेष्ठको कार्यशैली र अस्पतालको प्रशासकीय व्यवस्थापनमाथि थप प्रश्न उठेको हो ।
अस्पतालमा बेथिति र अनियमितता बढेको भन्दै स्थानीयले ‘सेवा रोकेर धेरै मरिसके, अझै कति जना अरू’, ‘म मुटु रोगपीडित, मेरो उपचार भएन’, ‘भ्रष्टाचारमुक्त अस्पताल बनाऊ’, ‘म कलेजो रोगपीडित, मेरो उपचार भएन’लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेपछि मन्त्री पौडेलले घटनाको नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका थिए ।
प्रदर्शनपछि स्थानीयसँगको संवादमा मन्त्री पौडेलले गलत गर्ने जोसुकैलाई निलम्बन गर्न कुनै कठिनाइ नहुने बताएका थिए । तर, कार्यकारी निर्देशक डा. श्रेष्ठले सञ्चारकर्मीको जिज्ञासामा आन्दोलनकारीलाई ‘अराजक समूह’को संज्ञा दिएका छन् । उनले आन्दोलनकारीले उठाएका मुद्दाबारे बोल्न चाहेनन् । उनको पछिल्लो नियुक्ति प्रक्रियामै नीतिगत भ्रष्टाचार भएको अनुमान हुन थालेको छ ।
शक्ति र पैसाको आडमा डा. श्रेष्ठले अस्पतालका चिकित्सक र कर्मचारीलाई दुःख दिने गरेको मात्र होइन, उपकरण खरिदमा अनियमितता गरेको आरोपसमेत लाग्दै आएको छ । अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुसी गरेको साथै अस्पताल विकास समितिको उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै स्थानीयवासी एवं कर्मचारीहरू आन्दोलित छन् ।
आन्दोलनको नेतृत्व गरिरहेका नवीन विष्टका अनुसार अस्पतालमा पाउनुपर्ने सुविधा नपाएको, करोडौं रुपैयाँमा खरिद गरिएको अत्याधुनिक उपकरण किनेर थन्क्याइएको, विशेषज्ञ चिकित्सकहरूलाई जबर्जस्ती बर्खास्त गरिएकाले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको हो ।
‘शहीद धर्मभक्तका नाममा अस्पताल खोल्दा जुन उद्देश्य थियो वा जुन किसिमको सुविधा दिने भनियो, त्यो केही पनि पाउन सकिँदैन, विशेषज्ञ चिकित्सकहरू विधि र प्रक्रियामार्फत भर्ना भएर अस्पतालमा कार्यरत छन् तर उनीहरूलाई गठन आदेश संशोधन वा समितिको विधान हेरफेर गरेरसमेत हटाउने काम भयो, जनतालाई गुमराहमा राखेर मिर्गौलाको मात्र सेवा दिने अनि कलेजो र मुटुको सेवा दिइरहेको छु भनेर गलत प्रचार गरियो,’ विष्टले भने, ‘हाम्रो एक जना चिकित्सकले नेपालमै दुर्लभ मानिएको हर्ट सर्जरी गरेर सफलता पाउनुभएछ, भएको उपकरणलाई प्रयोग गरेर दुर्लभ सर्जरी सफल हुँदा कार्यकारी निर्देशक आफैं ओझेलमा पर्ने डरले विशेषज्ञ चिकित्सकलाई नै बर्खास्त गर्ने काम भयो, तर अहिले उपकरण नै थन्क्याएर सेवा बन्द गरिएको छ, बेथितिले हद नाघेपछि संघर्ष गर्नुपरेको हो ।’
भएका चिकित्सकलाई दुर्व्यवहार र बर्खास्त गरेर सेवा बन्द गर्ने, भारतीय चिकित्सकलाई मोटो रकम बुझाएर भित्र्याउने र अस्पतालको उद्देश्य एवं गठन आदेशमा उल्लेख भएको व्यवस्थालाई लत्याएर अस्पतालमा प्रशासनले मनपरी गरिरहेको विष्टको आरोप छ । ‘अस्पताल प्रशासनले त मनपरी गरिरहेकै छ, तर मन्त्रालयका सचिव नै लेनदेनमा आकर्षित भएर अस्पतालमा प्राप्त हुने सेवा बन्द गराउन त पाइँदैन नि,’ विष्टले भने, ‘भएको उपकरण प्रयोग नहुँदा यहाँ आएका चार–पाँच जना बिरामीको मृत्यु नै भइसक्यो, यो त अति भयो नि ।’
स्थानीयवासीका अनुसार भएका उपकरण प्रयोग गर्नसक्ने दक्ष सर्जन वा चिकित्सकहरूलाई हटाउने, महँगो उपकरण थन्क्याउने र बिरामीलाई उपचारबाट वञ्चित गर्ने गरिएको छ । तीनथरीका मानव अंग प्रत्यारोपण सेवा उपलब्ध छ भनेर प्रचार गर्ने तर स्थान, दक्ष जनशक्ति र स्रोत साधनको अभाव रहेको भन्दै बिरामीलाई फर्काउने गरिएको स्थानीयको दाबी छ ।
जसका कारण लामो समयदेखि कलेजो, फोक्सो, मुटुका बिरामी अस्पतालमा आउँदा पनि उपचारबाट वञ्चित हुनुपरेको भन्दै स्थानीयवासीले पटकपटक मन्त्रालयसम्मै पुगेर गुनासो गर्दा पनि सुनुवाइ नभएको स्थानीय नागरिक समाजका अगुवा राजेन्द्र पुरीले बताए । ‘कलेजो, फोक्सो, मुटुको उपचार गर्नुपर्ने प्रावधान छ, तर यहाँ मिर्गौलाको मात्र उपचार हुन्छ, डा. पुकारचन्द्र श्रेष्ठ आफू मिर्गौलाको चिकित्सक भएकाले मिर्गौलाको मात्र उपचार गरेर बस्नुभएको छ, उहाँलाई धन्यवाद भन्नैपर्छ तर अस्पतालले दिने सुविधा र उपकरण उपयोगविहीन बनाउनु त भएन नि,’ समाजका अगुवा पुरीले अगाडि भने, ‘सबै सेवा सुविधा र उपकरण हुँदाहुँदै ठाउँ एवं दक्ष जनशक्ति अभाव देखाएर समाचार लेखाउने र सरकारका माथिल्ला निकायमा दुखेसो सुनाएर आफू चोखो बन्ने काम भएको छ ।’
भएका चिकित्सकलाई कारबाहीका नाममा हटाउने अनि महँगा चिकित्सकहरू झिकाएर बिरामीको ढाड सेक्ने काम भएको उनले बताए । ‘यहाँ तीन–चारवटा कोठामा उपकरण थन्क्याइएको छ, सम्बन्धित उपकरण चलाउनसक्ने दक्ष चिकित्सकहरू हटाइएको छ,’ पुरीले भने, ‘लोकसेवा लडेर आएका चिकित्सकलाई अनेक बहानामा दुःख दिने काम भएको छ, मुद्दा मामिला गरेर दुव्र्यवहार गर्ने काम अब सहन सकिँदैन ।’
यसअघि तीन जना स्वास्थ्यमन्त्रीलाई भेटेर समस्या सुनाइसकेको भए पनि सुनुवाइ नभएको उनले दुखेसो गरे । ‘हामीले समस्या सुनाएको प्रदीप पौडेल चौथो मन्त्री हुनुहुन्छ, उहाँसँग ठूलो आशा छ, अस्पतालमा नेपाल सरकारले दिएको सुविधा डा. श्रेष्ठकै कारण बन्द भएको जानकारी गराइसकेका छौं, अस्पतालमा उपकरण पनि छ, मुटु, कलेजो र फोक्सोको शीर्षकमा बेग्लाबेग्लै बजेट आउँछ तर काम नभएपछि बजेट कहाँ गइरहेको छ ?’ पुरीको प्रश्न छ ।
बिरामीको शल्यक्रिया गर्नुपर्दा बाहिरका चिकित्सक बोलाएर बिरामीको ढाड सेक्ने, आएका बिरामीलाई अन्य अस्पतालमा रिफर गरेर डा. श्रेष्ठ आफैं वा आफूनिकटका चिकित्सकलाई शल्यक्रिया गर्न लगाउने, स्थायी चिकित्सकहरूलाई काम गर्ने अवसर नदिने र स्थानीयलाई तुच्छ नागरिक सम्झिने डा. श्रेष्ठको रवैया अब धेरै सहन नसकिने पुरीले बताए ।
थन्किए उपकरण
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आवश्यक उपकरण, जनशक्ति र भौतिक पूर्वाधारको अभाव भनेर प्रचार गरिए पनि भएकै उपकरण प्रयोगमा नआएको स्थानीयको भनाइ छ । सातामा करिब १० वटा भास्कुलर सर्जरी गर्न सकिने सामान बिग्रेको भनी सो सेवा बन्द गराइएको, साताका १० वटासम्म हुने कलेजोको शल्यक्रिया बन्द गराइएको स्थानीयको आरोप छ ।
मुटु र फोक्सोको उपचारका लागि ल्याएका सामान पनि उपयोग नै नगरी थन्क्याइएको अस्पतालकै कर्मचारीहरूले बताउने गरेका छन् । नेपालमा विरलै अस्पतालमा उपलब्ध हुने इक्मो मेसिनसमेत थन्क्याएर राखिएको, इन्डोस्कोपी मेसिन सुचारु हुँदाहुँदै नयाँ मेसिन खरिद गर्न प्रक्रिया अगाडि बढाइएपछि कर्मचारीहरू नै असन्तुष्ट देखिएका छन् ।
भेन्टिलेटरबाट पनि बाँच्न नसकेका बिरामीलाई अति विशिष्ट उपचारबाट बचाउन सकिने इक्मो मेसिन, हर्टअट्याक भएका बिरामीलाई तुरुन्तै बचाउनसक्ने अति संवेदनशील क्याथ ल्याब मेसिन, मुटुको बाइपास सर्जरीलगायत जटिल शल्यक्रियाहरूमा प्रयोग गरिने ‘हर्ट लङ्स’ मेसिन साथै आईएबीपीजस्ता करोडौं मूल्यका उपकरण चलाउँदै नचलाईकन थन्क्याइएको सोही अस्पतालका कार्डियोभास्कुलर सर्जन डा. संजीतकुमार शाहको भनाइ छ ।
‘खरिद गरिएका उपकरणहरू प्रयोग गर्ने हो भने स्थानीय नागरिकले बुझ्नुपर्छ, किन प्रयोग भइरहेको छैन, खोजबिन गर्नुपर्छ, करोड होइन, अर्बौंका उपकरण थन्क्याएर अस्पताल अर्थात् सरकारले के गरिरहेको भन्ने कुरा बिरामी एवं स्थानीय नागरिकले बुझ्न र खोज्न सक्नुपर्छ,’ डा. शाहले अगाडि भने, ‘राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएका उपकरण सञ्चालनमा ल्याएर अस्पताललाई सुविधा सम्पन्न बनाउनुको साटो व्यवस्थापन र समिति अग्रसर नहुनुको पछाडि केही रहस्य लुकेको छ भनेर स्थानीयले खोज्नुपर्छ, सीमित व्यक्तिको एकाधिकारका कारण बिरामी र स्थानीयलाई गुमराहमा राख्न पाइँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया