त्रिविका पदाधिकारीमाथि निरन्तर धम्की, जीवन रक्षाका लागि शिक्षामन्त्रीको अपिल

लोकपथ
112
Shares

काठमाडौं । शिक्षामन्त्री, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि असुरक्षा बढेको भन्दै जीवन रक्षाको माग गरेकी छिन् ।

त्रिविका प्राध्यापक लगायत अन्य पदाधिकारीहरुमाथि निरन्तर फोनमार्फत धम्की आउन थालेको भन्दै पदाधिकारीहरु बिदामा बस्ने गरेको खबर बाहिरिएको थियो ।

त्यससँगै शिक्षामन्त्री भट्टराईले पदाधिकारीमाथि हमला गर्न खोज्ने प्रवृत्तिले सिंगो विश्वविद्यालय नै असुरक्षित बनेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्ने र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भिरताका साथ अनुरोध गर्दछु ।’

त्यस्तै आज सामाजिक सञ्जालमा अर्को स्ट्याटस लेख्दै उनले आफूले त्रिविको विषयमा सुझाव माग्नुपर्ने भएरै सामाजिक सञ्जालमा लेखेको स्पष्ट पारेकी छिन् । आफूले कुनै सार्वजनिक खपतका लागि नभएर त्रिविका पदाधिकारीहरुको जीवन रक्षाका लागि सुझाव मागेको बताइन् ।

‘यहाँहरुले मलाई महत्वपूर्ण सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नु पर्ने भएर नै गरेको हुँ । कुनै आवेगमा आएर लेखेको होइन । विगत ५ दिन देखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?