काठमाडौं । झापाको इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन् ।
फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागू औषध मुद्धामा यही भदौ २ गते विर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए ।
अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको थियो ।
हिरासतमा रहँदा अत्याधिक पेट दुखेको बताएपछि राईलाई मङ्गलबार अपराह्न ४ बजेतिर विर्तामोडको पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । हतकडी लगाइएका थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए ।
सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको नेतृत्वमा परिचालित प्रहरी टोलीले फरार थुनुवा राईको खोजी गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया