सूर्यदर्शन सहकारीका पूर्वसचिव नकर्मीलाई थुनामा राख्ने आदेश

लोकपथ
91
Shares

पोखरा । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी संस्था लिमिटेडका पूर्व सचिव अनुज नकर्मीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

वीरगञ्ज–१४ श्रीपुर स्थायी घर भई हाल पोखरा–१७, घारीपाटन बस्ने ४८ वर्षीय नकर्मीलाई प्रहरीले गत ३२ साउनमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेको हो । सहकारीको रकम सहकारी ऐन, नियमावली तथा संस्थाको नियमविपरीत हिनामिना एवं अपचलन गरेर ठगीजन्य कसूरमा संलग्न उनी फरार थिए । उनलाई प्रहरीले गत २ भदौमा कास्की जिल्ला अदालतमा मुद्दाको अभियोगपत्र माग दाबीअनुसार सजायका लागि उपस्थित गराएको थियो ।

सहकारीको १ अर्ब ११ करोड रुपैयाँ हिनामिना एवं अपचलन गरेको अभियोगमा उक्त मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ र भविश्वर अर्याल र सहकारीका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई छन् । उनीहरु कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन् ।

संस्थापक अध्यक्ष जीबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दास, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ अझै पनि फरार छन् ।

उक्त सहकारीका १ हजार ३५ जना बचतकर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?