३० हजार घुस लिने मालपोतका सुब्बा भ्रष्टाचारी ठहर, ३ महिना कैद सजाय

लोकपथ
91
Shares

काठमाडौं । सेवाग्राहीको काम गर्न ३० हजार रुपैयाँ घुस लिएका कपिलवस्तुस्थित मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले नायब सुब्बा नरहरि खनाललाई दोषी ठहर गरेको हो ।

जग्गा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरी रकमसमेत लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले खनाललाई गत वैशाख २४ गते पक्राउ गरेको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय, कपिलवस्तु, तौलिहवामा नायब सुब्बा रहेका खनालले घुस रकम लिई सेवाग्राहीको काम गरेपछि उनले घुसबापतको रकम आफू बस्ने कर्मचारी आवासको कोठामा लगेर लुकाएका थिए । साथै अख्तियारले अभियोजनमा खनाल र सेवाग्राहीबिच घुस रकम लेनदेनका लागि भएको कुराकानीको अडियो रेकर्डसमेत समावेश गरेको थियो ।

२०८१ जेठ १७ गते दर्ता भएको मुद्दा तीन महिनाभित्रै विशेष अदालतले फैसला सुनाउँदै खनाललाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीश त्रय टेकनारायण कुँवर, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले खनाललाई बिहीबार दोषी ठहर गरी बिगो रकम ३० हजार बराबरकै जरिवाना र तीन महिना कैद सजायको फैसला सुनाएको हो ।

विशेषको फैसलामा प्रतिवादी नरहरि खनालले उजुरीकर्तासँग घुस रिसवत माग गरेको अडियो संवाद, निज प्रतिवादीको आवास कोठाबाट रकम बरामद हुँदा बरामद भएको रुपैयाँ र उजुरीमा उल्लेख गरेको रुपैयाँको नोट नम्बरहरू मिले भिडेको आदि कारणबाट आरोप प्रमाणित भएको पुष्टि गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?