काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अहिले पनि महिलामाथि दुर्व्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताएका छन् ।
शुक्रबार महिला समुत्थान परियोजनाको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले हाम्रो समाजमा अहिले पनि महिलाहरुले लैङ्गिक भेदभाव र घरेलु हिंसाको सिकार हुनुपरेको बताएका हुन् ।
उनले भने, ‘नेपालको संविधानले हरेक नागरिकहरुलाई स्वतन्त्रताको हक दिएको छ । सम्मानपूर्वक बाँच्न पाउने हक दिएको छ । महिलाहरूको हक र अधिकारको रक्षा, सम्बद्ध र प्रवर्द्धन गर्न राष्ट्रिय प्रयासहरु भइरहेका छन् । हाम्रो समाजमा लैङ्गिक भेदभाव, घरेलु हिंसा, दुर्व्यवहारका घटना भइरहेका छन् । यस्तो हुनु सभ्य समाजका लागि दुर्भाग्य हो ।’
साथै उनले लैङ्गिक भेदभाव हटाउन सबै एकजुट हुन जरुरी रहेको बताए । उनले राष्ट्र विकासको नाममा सामाजिक मुद्दाहरूमा विविधता देखिएको जिकिर गरे ।
यस्तै मन्त्री सुडीले कानुनमा भएका व्यवस्था अनुसार महिला बालबालिका,ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको सरकारले सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया