सहकारी ठगी प्रकरण : छानबिन समितिको बयानमा रवि लामिछानेले के भने ?

लोकपथ
798
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणका विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ ।

विभिन्न सहकारीबाट गोरखा मिडियो नेटवर्कमा रकम आएको र उक्त रकम अपचलन भएको विषयमा समितिले लामिछानेसँग बयान लिएको हो । गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकको रुपमा उनीसँग बयान लिइएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार समितिले लामिछानेसँग ५० प्रश्नको जवाफ माग गरेको छ । त्यस्तै सोधपुछका क्रममा उनले गोरखा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक जीबी राईसँगको आफ्नो सम्बन्ध, चिनजानदेखि व्यवसायीक संलग्नताका बारेमा समेत बयानमा भनेको उनले बताए ।

‘सोधपुछका क्रममा उहाँले गोरखा मिडियासँगको सम्बन्धका बारेमा बताउनुभएको छ । जीबी राईसँगको चिनजानका बारेमा, जीबी राईको संलग्नताका बारेमा पनि बताउनुभएको छ । करिब ५० वटा प्रश्नहरु उहाँसँग छन् र अहिले झण्डै आधा भन्दा थोरैमा हामीले सोधपुछ गरिरहेका छौँ,’ उनले भने ।

त्यस्तै विभिन्न सहकारीबाट आएको कम्पनीमा आएको रकममा सन्दर्भमा आफ्नो कुनै संलग्नता र हस्ताक्षर नभएको विषयमा खुलस्त पारेको थापाले बताए ।

त्यस्तै समितिले आजै गोरखा मिडियामध्येका एक मध्येका एक छविलाल जोशीसँग समेत सोधपुछ गरेको हो । उनले गोरखा मिडिया नेटवर्कसँग आफ्नो संलग्नता र आफ्नो स्थितिबारे समेत बताएका छन् । उनले आफूहरुले सोधेको प्रश्नको जवाफ सविस्तार दिएको बताए ।

त्यस्तै सभापति थापाले लामिछानेसँग निरन्तर सोधपुछ गर्ने समेत जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा छानबिनका लागि गत जेठ १५ गते थापाको संयोजकत्वम ७ सदस्यीय छानबिन समिति गठन भएको छ । ३ महिनाको समय पाएको उक्त समितिले विभिन्न व्यक्ति र पक्षसँग सोधपुछ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?