भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने

लोकपथ
14
Shares

चितवन । नेपाल नेत्र ज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । 

नेपाल नेत्र ज्योति सङ्घ चितवनको २४औँ वार्षिक साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले सबै दृष्टिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रुपमा विकास गर्न उपयुक्त हुने बताए । ‘यहाँ दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र सङ्घीय अस्पताल रहेको छ, भरतपुर ‘मेडिकल सिटी’को रुपमा विकास भइरहेको छ, ’उनले भने । देशकै मध्यभागमा रहेकाले उक्त अस्पताललाई आँखा उपचारको प्रमुख केन्द्रको रुपमा विकास गर्नु आवश्यक भएको उनको भनाइ छ । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा.आषेश ढुङ्गानाले प्रतिष्ठानले नेपाल नेत्र ज्योति संघसँगको सहकार्यमा काठमाडौं उपत्यका बाहिर तीन स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्र ज्योति संघ नवलपुरका सभापति होमनाथ जैशी, संघकी सदस्य मिना खरेललगायतले संघको गतिविधिबारे जानकारी गराए। कार्यक्रममा संघका सचिव केशवप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन पेस गर्दै संघद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट गत एक वर्षमा तीन लाख ४९ हजार पाँच सय ४६ जनाको आँखाको उपचार गरेको जानकारी दिए। तीमध्ये ११ हजार दुई सय ५७ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?