काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल लगातार दोस्रो खेलमा विजयी भएको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जीतमा लियो नार्दो ट्रोसान्ड र थोमस पार्टेले एक एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले ६७ औँ मिनेटमा अग्रता लिएको थियो । ट्रोसान्डले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए ।
त्यसको १० मिनेटपछि पार्टेले गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि अन्ततः २–० को नतिजा निकाल्न सफल भयो । जीतसँगै आर्सनलले २ खेलबाट ६ अंक बनाउँदा एस्टनले समान खेलबाट ३ अंकमात्रै बनाएको छ ।
टोटनह्यामको जीत
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हटस्परले एभर्टनलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ । टोटनह्यामको जीतमा सन हिउङ मिनले २ गोल गर्दा एभेस विसोउमा र क्रिष्टियन रोमेरोले एक एक गोल थपेका थिए ।
टोटनह्यामले घरेलु मैदानमा १४ औँ मिनेटमा अग्रता लिएको थियो । एभेसले टिमका लागि पहिलो गोल गरेका थिए । २५ औँ मिनेटमा सनले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोल गरेको टोटनह्यामले दोस्रो हाफमा अरू २ गोल थपेको थियो ।
७१ औँ मिनेटमा रोमेरोले गोल गरेपछि टोटनह्याम फराकिलो जीत तर्फ अग्रसर भयो । ७७ औँ मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा अन्ततः टोटनह्याम ४–० को जीत निकाल्न सफल भयो । जितसँगै टोटनह्यामले २ खेलबाट ४ अंक बनाएको छ । एभर्टनको भने यो लगातार दोस्रो हार हो ।
सिटीको जीतमा हालान्डको ह्याट्रिक
इंग्लिस प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले इपिस्वीप टाउनलाई ४–१ गोल अन्तरको पुनरागमन जीत निकालेको थियो । १ गोलले पछि परेको सिटीलाई स्टार खेलाडी एर्लिङ हालान्डले ह्याट्रिक गर्दै उद्धार गरेका थिए ।
सातौँ मिनेटमा स्यामुएल सेजमोडिकले गोल गर्दै इपिस्वीपलाई अग्रता दिलाएका थिए । १२औँ मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई बराबरीका साथ खेलमा फर्काए ।
केभिन डी ब्रुएनाले १४ औँ मिनेटमा गोल गरेपछि सिटी २–१ ले अघि बढेको थियो । १६ औँ मिनेटमा ब्रुएनाको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले सुरुमै ३–१ को अग्रता लिन सफल भयो ।
हालान्डले ८८औँ मिनेटमा ह्याट्रिक पूरा गर्दा सिटी अन्ततः ४–१ गोल अन्तरको जीत निकाल्न सफल भयो । यो सिजनमा सिटीको लगातार दोस्रो जीत हो । यसै सिजन प्रिमियर लिग खेलिरहेको इपिस्वीप टाउनको भने लगातार दोस्रो हार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया