सुनकोशीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीन जनाको खोजी जारी

लोकपथ
609
Shares

सिन्धुली ।  शनिबार साँझ सुनकोशीनदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्य पहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नं को हाइलक्स गाडी भेटिएको हो । 

सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा डुबेको गाडी जेसिभीको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । आज बिहान घटनास्थलमा पुगेका  प्रहरी उपरीक्षक काफ्लेका अनुसार गाडी घटनास्थलबाट ५० मिटर तलबाट झिके पनि गाडीमा सवार चालकसहित तीनजना अझै बेपत्ता छन् । 

बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरु खटिएका छन् । गाडीमा चार जना सवार थिए । हाम्फालेर बाँच्न सफल घाइते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोशीसामुदायिक अस्पताल, खुर्कोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?