नेपालमा किन बढिरहेको छ ठगी धन्दा ?

लोकपथ
2.5k
Shares

काठमाडौं । सामान्य अर्थमा ठगी भनेको एक प्रकारको विश्वासघात हो । एकाको चल अचल धनमाल सम्पत्ति निजलाई क्षणिक प्रलोभन देखाइ वा अन्य विभिन्न तरिकाबाट ललाइ फकाइ झुक्याइ वा गफलतमा पारी बेइमानीका नियतले लिनु खानु मास्नु नै ठगी हो । साविक मुलुकी ऐन र हाल प्रचलित मुलुकी अपराध संहितामा ठगीसम्बन्धी कसुर र सजायको व्यवस्था गरिएको छ र यस्तो कसुर सरकारवादी फौजदारी मुद्दा हुने कानुनी व्यवस्था रही आएको छ ।

साविक मुलुकी ऐन ठगीको १ नं. र २ नं. मा ठगीको परिभाषा यस प्रकार गरिएको थियो । १ नं. अनुसार ‘कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेको छ उसलाई ललाइ फकाइ वा जाल परिपञ्च गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने कीर्ते कागज बनाइ दिई वा पेश गरी वा आफूसँग नभएको कुरा आफूसँग छ भनी झुक्याइ वा झुटो कुरालाई सद्दे हो भनी झुक्याइ वा अरु जुनसुकै व्यहोरासँग धाका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल लिए/दिए दिलाएमा वा अर्काको माल मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही माल लिए/दिए बिक्री व्यवहार गरेमा वा सट्टापट्टा गरी लिएमा ठगी गरेको ठहर्छ’ भनिएको छ ।

यस्तै, २ नं. मा ‘कसैले आफ्नो नाउँ ढाँटी सो नाउँ मेरो होइन अर्कैको हो भनी वा सो मानिस म होइन अर्कै हो भनी र अर्को मानिसको नाउँलाई मेरो हो, सो मानिस मै हुँ भनी भन्नु वा त्यस्तो कुरा अर्काबाट बच्नका लागि वा बेइमानीको नियतसँग अरु कसैलाई धोका, गफलत वा झुक्यानमा पारी अर्काको नोक्सान वा आफ्नो फाइदा हुने काम गरेमा ठगी गरेको ठहर्छ’ भनिएको छ । त्यसैको निरन्तरता स्वरुप मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ मा ठगी आपराधिक विश्वास घात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर भनी व्यवस्था गरिएको छ ।

यस हिसावले हेर्दा ठगी सम्बन्धमा सजाय गर्ने कानुनको अभाव देखिँदैन । तर नेपालमा ठगी धन्दा मौलाएको देख्दा लाग्छ नेपालमा सबै ठग छन् र सबै ठगिन्छन् ।

ठगीको परिभाषा सजायको अलावा अपराधिक विश्वासघात तथा अमपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको छुट्टाछुट्टै दफामा कसुरको परिभाषा र सजायको व्यवस्था गरिएको छ । चोरीमा धनीलाई थाहा नदिई वा जबर्जस्ती कृया हुन्छ भने ठगीमा पहिला विश्वास दिलाइन्छ । तर ठगी गर्नेले बेइमानका नियतले विभिन्न कुरा गरी ठगिनेलाई पूर्ण रुपमा विश्वास दिलाउँछ र झुक्याउँछ । विभिन्न स्वरुपका ठगी बढ्दै जाँदा सामान्य कानुनले मात्र नियन्त्रण हुन नसक्ने देखेर उक्त कानुनी व्यवस्था अलावा वैदेशिक रोजगारसम्बन्धी ऐन, २०४९ मा वैदेशिक रोजगारसम्बन्धी ठगीको र खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काटेर दिनु पनि एक प्रकारको ठगी जस्तै भए पनि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को देहाय (ग) मा बैंक खातामा पर्याप्त रकम नभएको कुरा जानी जानी ढाँटी झुक्याइ चेक काटी दिएमा बैंकिङ कसुर हुने व्यव्स्था गरी विषयगत विशेष किसिमका ठगीको अलग अलग कानुन र सजायको व्यवस्था गरिएको छ । यस हिसावले हेर्दा ठगी सम्बन्धमा सजाय गर्ने कानुनको अभाव देखिँदैन । तर नेपालमा ठगी धन्दा मौलाएको देख्दा लाग्छ नेपालमा सबै ठग छन् र सबै ठगिन्छन् ।

ठगीका केही सत्य प्रतिनिधि घटनालाई मैले यस लेख मार्फत् सर्वसाधारण सामु पुगोस् र ठगीका विभिन्न स्वरुपहरुका बारेमा जनचेतना होस् भन्ने हेतुले यहाँ प्रस्तुत गरेको छु ।

एक जना विद्या (काल्पनिक नाम) भन्ने केटी र विदुर (काल्पनिक नाम) भन्ने केटाबीच फेसबुकवाट चिनजान हुन्छ । कुराकानी हुन्छ । पछि काठमाडौंमा भेट गर्छन् र केटीले आफू नेपाल प्रहरीको असई र अविवाहित रहेको बताउँछिन् । केटाको मनोभावना सबै बुझेपछि अब यसलाई फसाउन सकिन्छ भन्ने सोचेपछि विवाह गर्ने प्रस्ताव गर्छिन् । केही समय सँगै बस्छन् ।

त्यसपछि आफू ड्यूटीमा जानु पर्ने भनी जान्छिन् । फोन सम्पर्क भइरहन्छ । एक्कासी आफन्त बिरामी भएको भनी रकम पठाउन निज विदुरलाई भन्छिन् । उनले पटक पटक आईएमई मार्फत् मोटो रकम पठाउँछन् । तर त्यो रकम निज विद्याको नाममा नभई निजको दिदी, साथी वा नातेदारहरुका भिन्न भिन्न नाममा हाल्न लगाइन् । नगद र सुनका गरगहना पनि हात पारिन् ।

अहिले उनी रुनु न हाँस्नुमा छन् । रकम उठ्ने वा जग्गा पाउने कुनै सम्भावना छैन । कानुनतः मुद्दा जिते पनि असुल उपर हुने कुनै सम्पत्ति देखिएको छैन ।

विदुरलाई यति विश्वास दिलाइन् कि निजको लागि ती महिला भन्दा आत्मविश्वासी यो संसारमा कोही छैन । उनले जे भन्यो त्यो पत्याउँदै विश्वास गर्दै लगभग ५० लाख रुपैयाँबराबर रकम र गरगहना दिए । त्यसपछि ती महिलाले शान्ति सेनामा अपर्झट विदेश जानु परेको भन्छिन् र एकाएक विदुरबाट टाढा हुँदै सम्पर्कविहीन हुन्छिन् । लगभग २/३ वर्षपछि ती महिला अर्कै पुरुषसँग विवाह गरेर नाम अर्कै राखी २ जना जोडीसहित काठमाडांैमा बस्दै आएको विदुरले चाल पाउँछन् र प्रहरीमा उजुरी गर्छन् । प्रहरीले पक्राउ गरेर लैजाँदा थाहा भयो की निज विद्या भन्ने महिलाको वास्तविक नाम सबैलाई लुकाइ विवाहको बहानामा विभिन्न केटाहरुलाई ठगी गर्दै हिँडेको र निजले ठगी गरेका केटापिच्छे अलग अलग नाम बताइ नाम नै सात आठ ओटा भई श्रीमती बनेर ठगी गरेको उजुरीको चाङ रहेछ । त्यसपछि विदुरले किटानी जाहेरी लिएर जाँदा श्रीमतीले खाएको नि कहाँ ठगी हुन्छ भनिन्छ र जाहेरी लिन नमानेपछि म आफैं प्रहरीमा गई कानुनी दबाब दिएपछि जाहेरी दर्ता गरिन्छ र निज महिला र निजसँगै पति बनेर बसेका अर्का पुरुष पक्राउ पर्छन् र काठमाडौं जिल्ला अदालतबाट ठगीको कसुर ठहर भई दोषी करार हुन्छिन् ।

यस्तै प्रकृतिबाट कोरिया बसेर कमाएको करोडौं रकम अर्को महिलाले एक जना पुरुषको गर्लफ्रेण्ड बनी हात पार्छिन् । विभिन्न व्यक्तिलाई निजले तिर्नु/व्यहोर्नु पर्ने तथा वैदेशिक रोजगारमा पठाउने भनी निज पुरुषका विश्वासका मानिसलाई पैसा हाल्न लगाउँछिन् र ग्यारेन्टी स्वरुप केटाको खातामा मौजदात नभएको चेक काट्न लगाउँछिन् र अहिले फरार छिन् । यी र यस्ता प्रवृत्तिका ठगी तथा महिलाद्वारा विश्वास दिलाइ पुरुषहरुलाई फसाउने र पुरुषहरु फस्ने क्रम व्यापक छ । यस्तै महिलाको फन्दामा परेपछि भनेजति रकम दिन नसके/नदिए जबर्जस्ती करणीमा जाहेरी दिई जबर्जस्ती करणीमा कसुरदार ठहर भएको वा मुद्दा खेपिरहेका पुरुषको संख्या बढ्दो छ ।

महेश (काल्पनिक नाम) ९ वर्ष वैदेशिक रोजगारमा कोरिया बसेर लगभग १ करोड रुपैयाँ कमाइ काठमाडौंमा घर घडेरी जोड्ने सपना बोकेर आउँछन् । जग्गा खोज्दै जाने क्रममा एक जना बुद्धि भन्ने व्यक्तिले काठमाडौं साङ्लामा जग्गा देखाउँछन् । उनलाई मन पर्छ । बैना गर्छन् । तर त्यो जग्गा बुद्धिको होइन । निजले आफूले बैना गरी राखेको हो, म नै हुँ भने र बैना लिए ।

निजलाई निज महेशकै साथीले फरक पर्दैन । उहाँ इमान्दार मानिस हुनुहुन्छ भनेपछि आँखा चिम्लेर बैना गरे । पटक पटक रकम थप्दै एक करोड रुपैयाँ माथि रकम दिए । भाका सक्कियो, तर उनले जग्गा पास गराइ दिएनन् । पछि कि रकम चाहियो कि जग्गा चाहियो भनेर निज महेशले धरपकड गरेपछि आफ्नो नामको, श्रीमती तथा छोरीका नामको चेक काटेर दिए । चेक बाउन्स भयो । त्यसपछि उनले बैंकिङ कसुरमा जाहेरी दिए । श्रीमती धरौटीमा छुटिन्, छोरीको नाममा जाहेरी परेपछि उच्च अदालतमा निषेधाज्ञा निवेदन दिए र अन्तरिम आदेश लिएर उल्टो मुद्दा खेप्न पर्ने बनाए । अहिले उनी रुनु न हाँस्नुमा छन् । रकम उठ्ने वा जग्गा पाउने कुनै सम्भावना छैन । कानुनतः मुद्दा जिते पनि असुल उपर हुने कुनै सम्पत्ति देखिएको छैन ।

राम प्रसाद (काल्पनिक नाम) को छोरी ज्वाईं अमेरिका हो या अष्ट्रेलिया बस्ने रहेछन् । निजहरुले काठमाडौंमा घडेरी किन्ने निधो गरी छोरीले बुबालाई भनिछन् । बुबा चाहिँ बालाजु भेगको लोकल दलाल नै हुन् । उनले एउटा जग्गा किन्न भनी बैना गरे, जुन त्यही छोरीले पठाएको रकमले छोरीकै लागि थियो । जग्गा बैना गरेको भन्दा निजले आनाको दुई वा साढे दुई लाख रुपैयाँ बढी मूल्यमा बैना गरेको भनी छोरी ज्वाईँलाई भनेछन् । यो कुरा जग्गाधनीलाई पछि थाहा भयो । जग्गाधनीले म लेखकलाई भन्नुभयो । ती मानिसलाई मैले चिनेको थिएँ । एक दिन देशका मानिस सबै चोर डाँका भनी गफ दिँदै गरेको अवस्थामा बाटामा जम्काभेट भयो । मैले आफ्नै छोरीले बाउलाई विश्वास गरेर जग्गा किन्न पठाएको रकममा आनामै दुई तीन लाख रुपैयाँ कमिसन खानेहरुले देशका सबै चोर फटाहा देख्छन्, आफ्नो अनुहारमा ऐना हेरे हुने भनेको तिनैले बाउले मलाई त्यस्तो गरेर खानु भन्दा बरु उनकै भाषामा नर्क खानु नी भने र त्यहाँबाट हिँडे । त्यसको दुई चार दिन पछि त बैना फिर्ता गरेछन् । अन्यत्र नै जग्गा किनेर पछि घर बनाइ दिएछन् । छोरीलाई ठगी गरेको अरुलाई थाहा भयो अनि अन्यत्र जग्गा किनेर घर बनाए । छोरी ज्वाईँलाई यस्तो गरेका छन् भन्ने कुनै पत्तो छैन र जन्म दिने बाबुलाई छोरीले अविश्वास गर्नु पर्ने कारण पनि भएन ।

यस्ता चरित्रका मानिस शहरमा बग्रेल्ती छन् । तिनका नजरमा मानिसलाई विश्वासघात गरेर पैसा कमाउनु उनको रोजगारी हो र जायज हो । अरुका नामका जग्गा किर्ते कागज खडा गरी बिक्री गरेका, दर्ता बाँकी जग्गाको नक्कली जग्गाधनी मोही खडा गरेर दर्ता गरेका घटना त अनगिन्ती छन् । बेला बेलामा घटनाहरु सार्वजनिक भइरहेको सबै सामु छर्लंग नै छ ।

वैदेशिक रोजगारमा ठगी व्यापक रहेको कुरा सबैलाई थाहा भएकै हो । वैदेशिक रोजगार न्यायाधीकरण नामक छुट्टै अदालत नै गठन गरिएको छ । तर पनि ठगी धन्दा मौलाएको छ । पछिल्लो खेपमा कन्सल्टेन्सी र म्यानपावर कंपनीहरुले आफ्नै कामदार कर्मचारी मार्फत ठगी गरेर रकम लिई फरार हुने र कामदार कर्मचारीहरु फस्ने घटना अत्यधिक वृद्धि भएको छ । पछिल्लो खेपमा हरेक कारोबारमा चेक खेती नै शुरु भएको छ । चेक बाउन्स हुने र बैंकिङ कसुर वा चेक अनादरका मुद्दाले अदालत भरीभराउ छ । काठमाडौंमा मात्र जाहेरीका लागि प्रहरीमा पुगेका तर दर्ता भई पक्राउ पुर्जी नै जारी हुन नसकेका लगभग ८० हजारमाथि उजुरी प्रहरीमा छ भनी प्रहरी स्रोतको भनाइ छ । यीमध्ये सबै आपराधिक मनोवृत्तिबाटै काटिएको चेक भने होइन ।

कतिपय व्यवहार मिलाउन चेक दिइएकोमा त्यसको विश्वासघात गरी चेक बाउन्स गराइ हतियार बनाइ ब्ल्याकमेल गर्ने उद्देश्यका पनि छन् । अनुसन्धानकर्तालाई को वास्तविक पीडित र को नियतवश ठगी धन्दा गर्ने हो भन्ने छुट्याउन नै नसक्ने अवस्था छ ।

आज भन्दा लगभग १५/१६ वर्षअघिको घटना हो । एक जना नुवाकोटका ढुंगाना थरका व्यक्तिको जग्गा अधिग्रहणमा परी लगभग डेढ करोड रुपैयाँ आएछ । उक्त रकमले काठमाडौंमा घर किन्न भनी खोजी हिड्ने क्रममा एक जना दलाल फेला परेछन् । उनले डेढ करोड रुपैयाँ आफूलाई दिएमा तीन महिनाभित्रमा तीन करोड फिर्ता गर्ने र सो तीन करोडको चेक सोही दिन दिने प्रस्ताव राखी तीन महिना पछि दुईवटा घर किन्ने सपनामा निज ढुंगानालाई पूर्ण विश्वास दिलाए । उक्त विश्वास दिलाउन निजले के कति झुट बोले भन्ने त बताउन धेरै समय लाग्छ । निजलाई पूरै गफलतमा पारे र तीन महिनापछि भुक्तानी पाउने गरी आफ्नो नामको चेक थमाए र ढुंगानाको डेढ करोड हात पारे ।

तीन महिनापछि बैंकमा चेक साट्न गए । तर बैंक खातामा रकम थिएन । त्यसपछि ती दलाल सम्पर्कविहीन हुँदै गए । लगभग ६/८ महिनापछि एक दिन फेला परेछन् र कागज गर्न भनी मलाई ढुंगानाजीले बोलाउनु भयो । कागज गर्न जाँदा ती दलालले मसँग भने कि मेरो नाममा नेपाल सरहदभित्र कुनै पनि चल अचल सम्पत्ति छैन । मैले ढुंगानाबाट लिएको रकम अरु अरुलाई दिएको हुँ । मैले पाँच लाख रुपैयाँ मासेको हो । उक्त रकम म कुनै दिन कमाएर तिर्छु । अरु त म तिर्न सक्दिन । कागज नै गर्न त मलाई कुनै आपत्ति छैन । उहाँले उजुर हाले म थुनामा बस्न राजी छु । दुनियाँको लेनदेन वापत एक वर्ष थुनामा बस्न मलाई मन्जुर छ । मैले गलत गरेको हो । म सत्य कुरा होइन/छैन भन्दिनँ ।

इमान्दारिता जहाँ गए पनि छोड्दिन । ती दलालका कुरा सुनेर म आफैं आश्चर्यमा परें । कागज गरियो, त्यसपछि रकम तिरे वा तिरेनन् मलाई थाहा छैन । सम्भवतः उक्त रकम तिरेका छैनन् ।

अर्को एउटा घटना यस्तो छ । एक जना प्याकुरेल थरका व्यक्तिले आफ्नी श्रीमतीलाई प्रयोग गरी विभिन्न व्यक्तिहरुबाट झण्डै तीन करोडमाथि रकम लिई विभिन्न व्यक्तिको नाममा जग्गा खरिद गरी श्रीमतीका नाममा कुनै सम्पत्ति नराखी रकम लिएका व्यक्तिहरुमध्ये कोहीलाई चेक काटी दिने कागज गर्ने गरेछन् । चेक बाउन्स भई बैंकिङ कसुरमा जाहेरी परेपछि श्रीमतीलाई ललाइ फकाइ रातारात सम्बन्धविच्छेद गरे र श्रीमती धरौटी बुझाउन नसकी कारागार पुगिन् । उल्टै रकम दिनेहरुलाई आपराधिक लाभमा मुद्दा दायर गरियो । तर कसुर ठहर हुन सकेन । अहिलेसम्म निज महिला थुनामा छिन् । तर पछि प्याकुरेलले अर्को विवाह गरी बसेको भन्ने सुन्नमा आएको छ । आफ्नै पतिको विश्वासमा घात गरी आफू कारागारमा पुगिन् ।

पीडितको रकम तिर्ने आधार छैन । श्रीमान अर्को विवाह गरेर खुलेआम हिंडिरहेका छन् । रकम ठगिने पीडितहरुले न्याय पाउने सम्भावना नै छैन । आम मानिसको मनोभावना अनुकुल बन्ने, हेर्दा विश्वासिलो पत्यारिलो देखिने बन्ने र त्यही भावनामा खेल्दै विश्वासघात गरी ठगी गर्ने आपराधिक मनोवृत्तिका मानिसहरु समाजमा अनेक स्वरुपमा रहेका छन् । पछिल्लो खेपमा धर्मको नाममा ठगी गर्ने धन्दा पनि शुरु भएको छ । त्यस्तै ठगीको ज्वलन्त उदाहरण हो, हालै सम्पन्न पशुपति कोटीहोम सञ्चालक समितिका अध्यक्ष विजय भण्डारीको ठगी धन्दा । आफूलाई पहिला विष्णु प्रपन्नाचार्य गुरु महाराज भनी स्वघोषित महाराज बनेर विभिन्न व्यक्तिलाई ठगी गरेकोमा काठमाडौं जिल्ला अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तानी गरी छुटेका व्यक्ति हुन् ।

नाम फेरेर बालयोगेश्वर विजयकृष्ण मूर्ति महाराजका नाममा एकाएक उदय भए र पछिल्लो पटक पशुपतिमा आफैं अध्यक्ष बनी करोडौं रकम असुल गर्न भ्याए ।

अदालतमा मुद्दा नचलेका तर निजले ठगी गरेका अन्य व्यक्तिहरु धेरै छन् । सप्ताह, पुराण, महायज्ञ जस्ता धार्मिक कार्यक्रम राखी स्वेच्छिक दान लिएको बनाउने र उक्त रकमले विभिन्न धर्मशाला/आश्रमगृह बनाउने भनी सोझा सिधा मानिसहरुको ‘ब्रेण्ड वास’ गरी रकम उठाउने र उक्त रकम मनोमानी खर्च गर्दै हिड्ने गरेका छन् । सामान्यतया दान दिएकाहरुले रकम फिर्ता माग्न नजाने हुँदा धर्मका नामबाट गरिने ठगी ठगहरुका लागि बढी भरपर्दो र सजिलो हुने देखेर यसमा झम्टी झम्टी लागेको प्रष्ट देखिन्छ । विष्णु प्रपन्नाचार्य भन्ने उपनाम ठगीमा दर्द भएपछि नाम फेरेर बालयोगेश्वर विजयकृष्ण मूर्ति महाराजका नाममा एकाएक उदय भए र पछिल्लो पटक पशुपतिमा आफैं अध्यक्ष बनी करोडौं रकम असुल गर्न भ्याए ।

जनमानसमा ठूलो धार्मिक कार्यक्रम गरेको देखाइ ठूलो संख्यामा मानिस उपस्थित गराउन तिनलाई पूर्ण विश्वास दिलाइ रकम दान गर्न उक्साए वा दुरुत्साहन गरे । वास्तविक धर्म के हो र के गर्दा मिल्छ कसैलाई थाहा छैन र थाहा हुन परेको पनि छैन । तर देखासिकीकै धार्मिकता र दानी बन्नु परेका नेपाली समाजलाई उनले बढो बुद्धिमत्तापूर्ण तरिकाले ठगी गरे । यो विषयमा सबै बेखबर भए । उनको भेषभूषा पहिरन हेर्दा लाग्छ–उनी महान धार्मिक अभियन्ता सन्त हुन् र जे बोल्छन् त्यो गर्छन् । तर निजको भित्री व्यवहार र बानी व्यहोरा हेर्दा उनी एउटा नामुद ठग हुन् । उनको आचरण कुनै धार्मिक व्यक्तित्वको छँच्दै छैन । विस्तारै डिस्को, डान्स र बाजेको सेकुवामा भेटिएको खबर बाहिरिँदै छन् । उनको व्यवहार र आचरण तथा उठेका रकमको पारदर्शिताको प्रश्न उठाउनेलाई धर्मविरोधी संज्ञा दिने, जिउ ज्यानमै धावा बोल्नेसम्म गरेको भन्ने समाचारहरु पनि बाहिरिएको छ । यस्तो आपराधिक मनोवृत्तिका मानिसलाई सजिलै विश्वास गर्ने हाम्रो समाज देखेर झनै उदेक लागेको छ ।

आपराधिक मनोवृत्तिका यी र यस्तै प्रकृतिका घटना लाखौंमा छन् । कसैले क्षणिक लोभ देखाइ दिंदैमा विश्वास गरेर आफ्नो सर्वश्व हुने गरी रकम दिने र पछि उल्टै आफैंलाई ज्यानकै धावा बोल्ने संगठित खालका ठगी घटनाहरुको बिगबिगी नै छ । अब कसको विश्वास गर्ने, कसको नगर्ने कुनै सिमा नै नहुने भएको छ । कारोबारमा ठगी, व्यापार व्यवसायमा ठगी, विद्यालयमा शिक्षकले ठगी, अस्पतालमा डाक्टरले ठगी, वकिलले नै ठगी गर्ने घटनाहरु पनि छताछुल्ल छन् । सहकारी ठगी अहिलेको जल्दोबल्दो समस्याको रुपमा रहेको छ । यी सबै हुनुको पछाडि कानुनको शासन पालना गर्ने शासक वर्ग कमजोर हुनुमा त दुई मत छैन । ठगी नियन्त्रण हुनका लागि आम मानिस चेतनशील हुनु र क्षणिक लोभ र अफवाहको पछाडि नलाग्नु, आफूलाई पूर्ण ज्ञान नभएको विषयमा कसैले केही फाइदा देखाउँदैमा तिनको विश्वास गरी नहाल्नु, कुनै व्यक्तिसँग लेनदेन कारोबार गर्नुपूर्व निजका व्यवहार गहिराइबाट बुझ्नु र हरेक कुरामा आफूले पहिला केही दुःखै पाएपनि बुझेर मात्र काम गर्नु नै हो ।

जबसम्म कसैले बोलेका भनेका कुरामा कति सत्यता छ भन्ने नबुझी अन्धविश्वास र लहैलहैमा नै विश्वास गर्दछन् तबसम्म ठगी कार्य भइरहने देखिन्छ । ठगीका विभिन्न स्वरुपका घटनाहरुलाई विशेष अनुसन्धानको विषय बनाइ संगठित रुपमा हुने ठूलाठूला ठगी तथा जनमानसमा भुसको आगो झैं फैलिएका ठगीका घटना र ठगीधन्दा चलाउने व्यक्तिहरु उपर छानबिन र कारबाही गरी नियन्त्रण गर्ने प्रयास राज्यस्तरबाट यथाशक्य हुनै पर्ने देखिन्छ । कानुन बनाएर मात्र नियन्त्रण हुनेवाला छैन ।

ठगी अरु अपराध भन्दा अली फरकको अपराध हो, किनकी ठगी हुनका लागि ठगी गर्नेले ठगिने व्यक्तिलाई शुरुमा पूर्ण रुपमा विश्वास दिलाएको हुन्छ । यहाँ ठगी हुँदैछ, हुन सक्छ भन्ने पत्तै हुँदैन । तर निजको मन्जुरीमै निजविरुद्धको अपराध भइरहेको हुन्छ । पहिला विश्वास पछि घात नै ठगी भएकोले यो अपराध नियन्त्रण गर्न सामाजिक चेतना स्तरवृद्धि नभएसम्म कानुनले मात्र सम्भव देखिँदैन । ठगी अपराधमा अपराध भएको छ तर प्रमाण जुटाउन नसक्दा अधिकाँश कसुरदार उपर उजुरी नै पर्न सक्दैन । उजुरी परे पनि प्रमाण नपुग्दा कसुर ठहर हुन सकेका छैनन् । यसरी ठगी गर्नेमा वा ठगीको विजारोपण गर्नेमा विशेषगरी समाजका अगुवा टाठाबाठा हुने र तिनकै राज्य सत्तादेखि न्यायालयसम्म पहुँच हुने कारणले पनि सर्वसाधारण ठगिएपछि न्याय पाउन सकेका छैनन् । तथाकथित अगुवा भन्नेहरु नै ढाँटछल र विश्वासघात गर्नु तिनको धर्म जस्तै मान्दछन् र धन देखेपछि महादेवको तीन नेत्र भने झैं ठूला ठूला ठगी गर्नेहरुले ओहदामा रहेका व्यक्तिहरुलाई समेत गैरकानुनी वा अनियमित धनको प्रभावमा पार्न सफल भएका छन् र तिनकै सम्पर्क र संरक्षणमा रहेर आर्थिक अपराध मौलाइरहेको छ ।

काठमाडौं उपत्यकालगायत देशका ठूला शहरमा घरजग्गा कारोबारमा हुने ठगी, वैदेशिक रोजगारका नाममा हुने ठगी, सहकारीका नाममा हुने ठगीको त आँकलन गर्ने नसक्ने स्थितिमा छ । ‘अघोषित दलाल’ र घरजग्गा कारोबारका लागि खोलिएका कम्पनीका मालिकबाट ठगिएका मानिसको संख्या अत्यधिक छ । विभिन्न अपार्टमेन्ट, हाउजिङ, प्लटिङका नाममा ठगी गर्ने ठूला ठूला ठगीका घटना त नौलो होइन । यहाँ आफ्नै बाउले छोराछोरीलाई, छोराछोरीले बाउआमालाई ठग्नु पनि सामान्यझैँ भइसकेको छ । घरजग्गा खरिद बिक्री तथा लेनदेन कारोबार सम्बन्धमा ठगी गरेका उदाहरण सबै सामु छर्लंग छ ।

मानौं घरजग्गा कारोबारमा जति ठगी गरे पनि त्यो जायज मान्दछन् । घरजग्गा दलाललाई कानुनले वैधानिकता दिएको छैन । तैपनि कुनै जग्गा किनबेच गराइ दिए वापत निश्चित शुल्क लिनुसम्म पारिश्रमिक मान्न सकिएला । तर वास्तविक जग्गाधनीले भन्दा बढी रकम दलालले खाएका घटनाहरु जगजाहेर छन् । कुनै पेसा व्यवसाय देखाउन नसक्नेहरुको रातारात करोडौं अर्बौँको सम्पत्ति हुनुमा कुनै न कुनै तवरले हुने अनियमितता नै हो । नियमित रुपमा आर्जन गर्नेहरु भन्दा अनियमित धन्दा गर्नेहरुको आर्जन मनग्य हुने र धन आर्जन गरेपछि समाजले उच्चस्तरको मानिदिने कुसंस्कार भएकै कारण जसरी पनि छोटो समयमा बढी धन आर्जन गरी समाजमा स्थापित हुने मनोकांक्षा वृद्धि हुँदै जाँदा आर्थिक अपराध मौलाएको हो । कुनै पनि पेसा व्यवसाय नहुँदा पनि शहरमा नै बस्नु पर्ने सोंचले पनि मानिस ठगी अपराध गर्न तल्लिन छ । जब मानिसमा नियमित काम हुँदैन तर पनि देखासेखीमा अरु भन्दा बढी हुनु पर्ने होडबाजी छ । ‘पहिला गर नियमित काम र कामबाटै आर्जन हुन्छ दाम’ भन्ने बुझाइ नै छैन ।

‘जसरी पनि कमाउँ दाम, कसरी छल्ने काम’ भन्ने सोंचले ग्रस्त भएका मानसिहरुको मनोविकारकै कारण जसरी पनि धेरै धन आर्जन गर्नै पर्ने बाध्यता महसुुस गर्छन् र अनियमित धन आर्जन गर्न लाग्छन् । धन आर्जन गर्ने सकाराम्मक बाटो नदेखेपछि नकारात्मक बाटो समाउँछन् । सकारात्मक बाटोबाट रातारात धनी हुन सकिँदैन । प्रणालीगत रुपमा बिस्तारै विकास हुँदै जाने मात्र हुन्छ । रातारात धनी हुनु पर्ने, वास्तविक धरातलमा आफ्नो गाँस, बास, कपास, स्वास्थ्य र शिक्षाको लागि चाहिने न्यूनतम आवश्यकता परिपुरण नभए पनि देखासेखीमा फजुल खर्च गर्नै पर्ने र फजुल खर्च गर्नेहरु इज्जतदार हुने सामाजिक मनोविज्ञानका कारण पनि मानिस आर्थिक अपराधमा तल्लिन भइरहेका छन् । त्यस्ता मानिसहरु हेर्नलाई बढी टाठाबाठा, समाजका अगुवा, प्रतिष्ठित, सबै विषयको जानकार जस्तो हाउभाउ देखाउँछन् र सर्वसाधारणलाई सजिलै विश्वासमा पारी फसाउन सक्छन् । धन कमाएर मात्र धनी वा समाजमा उच्चस्तरको होइन्छ भन्ने सामाजिक मनोविज्ञानले नै मानिस जसरी पनि धन चाहिन्छ भन्दै धनका पछि लाग्दा अपराधजन्य कार्य गर्न तल्लीन भएका छन् । तर वास्तविकता भने धन श्रममा हुन्छ र सकारात्मक काम गर्दै जाँदा ‘कामको पछि दाम’ हुने हो । मानिसको स्तर धनले मात्र हुने हुँदै होइन । नियमित रुपमा गरिने नित्यकर्म, ज्ञान, विवेक, सेवाभाव, सामाजिक संस्कारलगायतका विभिन्न सूचकहरुबाट मानिसको स्तर मापन हुने हो ।

आफूसँग भएको धनको सहिी प्रयोग वा परिचालन गरेर तथा आफ्नो ज्ञान, सिप, प्रयासबाट नियमित काम गर्दै जाँदा वास्तविक र दिगो धन आफैं आर्जन हुँदै जाने हो । धन कमाउन भौतारिने होइन । आफूले गर्ने पेसा व्यवसाय वा काममा हुने साना साना व्यवधानहरुको पहिचान गर्न सक्ने विशिष्ट ज्ञान वा विशेषज्ञता हासिल गर्दै जाँदा धन आफैं आर्जित हुँदै जाने हो । हिन्दुहरुको महान ग्रन्थ गीतामा कर्म गर फलको आश नगर भन्नुको तात्पर्य नै नियमित काम गर्दै जाँदा स्वतः आर्जन हुने धन हो । धनको लालचमा मात्र गरिने कामले पूर्णता पाउन सक्दैन । ध्यान काममा हो धनमा होइन भन्न खेजिएको हो । जब काममा ध्यान हुन्छ तब विशिष्ट ज्ञान हुन्छ । त्यही ज्ञान बाँडेर धन आर्जित हुँदै जान्छ भन्ने बुझाइ नै नहुनु विडम्बना छ । आफूले गर्ने वा गरेका नियमित कामबाट प्राप्त गरेको विशिष्ट ज्ञानले नै धन आर्जन हुन्छ भन्ने बुझाइ भइदिएको भए मानिसले कामलाई प्राथमिकता दिन्थे । तर यहाँ ‘काम अरुको दाम आफ्नो‘ अर्थात ‘काम कसरी छल्ने भन्ने र दाम अरुको भन्दा वढी हात पार्ने’ भन्ने कुविचारवाट मानिस ग्रस्त छ । त्यही मानसिकताले गर्दा मानिस आफैँले गर्दै आएको काममा ध्यान नहुँदा निपुण हुनै सक्दैन । हरेक काम गर्दै जाँदा नयाँ नयाँ समस्याहरु थपिँदै जान्छन् । त्यस्ता समस्याहरु प्हिचान गर्दै समाधानका उपायहरु खोज्दै जाँदा नै निपुण हुने हो ।

तर जब काममा ध्यान छैन, समय कटाउने माध्यमको रुपमा मात्र लिइन्छ तब उसले काममा बाधा गर्ने साना साना समस्या पहिचान गर्न र आफैं हल गर्न सक्दैन । अनी समस्यादेखि डराउने र कामबाट भाग्न थाल्छ र धनलाई बढी प्राथमिकता दिने सोंच बढ्दै जाँदा आर्थिक अपराध गर्न दुरुत्साहित हुँदै जान्छ । हरेक कामको गहिराइबाट ज्ञान हुँदा धन पनि कमाउने हो भन्ने बुझाइ नै आममानिसमा नहुनु विडम्बना छ । उपभोगवादी संस्कार बढ्दो छ । सृजनामा विश्वास हराएको छ । भौतिक बिलासिताको उपभोगवादी सोंचबाट ग्रस्त मानिस र नियमित काममा नभई धनमा नै तन, मन, ध्यान हुँदा समाजमा आर्थिक अपराध अत्यधिक वृद्धि भएको हो । ठगी धन्दा पनि त्यसैको उपज हो । जबसम्म मानवीय सोंचमा परिवर्तन आउँदैन तबसम्म नियन्त्रण हुन पनि कठिन देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?