साउनमा तीन अर्ब ७५ करोड राजस्व संकलन

लोकपथ
21
Shares

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा तीन अर्ब ७५ करोड राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व संकलन गरेको जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व संकलन उत्साहजनक देखिएको दाबी गरे । ‘चालु आवको साउनमा राजस्व संकलनमा औसतमा उत्साहजनक देखिएको छ । भदौको समग्र राजस्व संकलनले आगामी दिनको दिशानिर्देश गर्नेछ, ’उनले भने ।

भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा चार अर्ब २४ करोड ६३ लाख ३५ हजार लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६ दशमलव ०१ प्रतिशत अर्थात् चार अर्ब सात करोड ६९ लाख ९५ हजार राजस्व संकलन गरेको थियो ।

कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व संकलन ३२ करोड ४७ लाख ८४ हजारले घटेको छ । प्रमुख भन्सार अधिकृत बरुवालले गत आवको साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व संकलनमा केही कमी आएको बताए । कार्यालयले आव २०७९/८० को साउनमा भने तीन अर्ब ६१ करोड ८५ लाख दुई हजार राजस्व संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?