काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षकलाई नियुक्त गरेको छ ।
तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिइएको हो । २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
यस्तै भलिबलको मुख्य प्रशिक्षकमा जगदीश भट्ट नियुक्त भएका छन् । २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्ट १८ वर्ष देखि राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भएपछि भट्टलाई जिम्मेवारी दिइएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुवै जनालाई मुख्य प्रशिक्षकमा नियुक्ति दिएका हुन् । नियुक्ति पत्र बुझाउँदै घिसिङले सम्बन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया